मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री ओलीले पृथकतावादी आन्दोलन सकियो भनेर दुश्प्रचार गरेः कांग्रेस नेता रामचन्द्र पौडेल



बुटवल फागुन, २८–
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार र सीके राउतबीचको सम्झौताले सरकारको नियतमाथि अनेक प्रश्न उठिरहेको बताएका छन् । मंगलबार बुटवलमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले राउतसँगको सम्झौताले राष्ट्रिय अखण्डतामाथि नै गम्भिर प्रहार गरेको आरोप लगाए ।
पौडेलले भने, ‘सरकारले सीके राउतसँग गरेको ११ बुँदे समझदारी अपरिपक्व छ, सिकेसँग गलत सम्झौता गरेर सरकार आफैंले देशको अखण्डतामाथि प्रहार गरेको छ ।’
उनले पृथकतावादी आन्दोलन सकिएको भनेर प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको पनि चर्को आलोचना गरे । पौडेलले भने, ‘प्रधानमन्त्रीले पृथकतावादी आन्दोलन सकियो भन्नु दुश्प्रचार हो ।’
त्यस्तै, नेता पौडेलले वाइडवडी काण्डमा तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारी निर्दोष रहेको भन्ने प्रधानमन्त्रीको भनाइप्रति पनि असन्तुष्टि जनाए ।
अख्तियारलाई समेत चुनौती दिने गरी प्रधानमन्त्रीबाट आएको अभिव्यक्ती ढाक छोप गर्ने प्रपञ्च भएको पौडेलको भनाइ छ ।

आधिकारिक रुपमा छानविन गर्नुपर्नेमा सरकार दूधको साक्षी बिरालो जस्तै बनेको उनले बताए ।

उनले छानबिन समितिले सत्यतथ्य बाहिर ल्याउनेमा पनि शंका व्यक्त गरे । ‘छानविन आयोगभन्दा पनि ढाकछोप आयोग बनाएर पर्दा हाल्ने काम मात्रै भएको छ’, निष्पक्ष छानबिनमाथि शंका व्यक्त गर्दै पौडेलले भने ।

कार्यक्रममा उनले सरकारको मूल्यांकन गर्न पनि भ्याए । सुनकाण्डदेखि चिनी काण्डसम्मका उदाहरण प्रस्तुत गर्दै उनले यसलाई भ्रष्टाचार मौलाएको प्रमाणका रुपमा प्रस्तुत गरे ।

विप्लव नेकपालाई बेलैमा सम्बोधन गर्नुको विकल्प नभएको भन्दै उनले अबिलम्ब वार्तामा बोलाउन माग गरे । ‘सर्पको खुट्टा सर्पले देख्छ, अबिलम्ब विप्लवजीसँग वार्ता गरे ।’

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलबार  ५ : १९ बजे