भरतपुर महानगरको ५ नम्बर वडा कार्यालयमा बम विष्फोट



चितवन फागुन, २९–
मंगलबार राति भरतपुर महानगरपालिका वडा नम्बर ५ को कार्यालयमा सिलिण्डर बम बिस्फोट गराइएको छ। मध्यराति १२ बजे तोरीखेतस्थित कार्यालयमा बम बिस्फोट भएको चितवन प्रहरीले जनाएको छ । बम बिस्फोटबाट वडा कार्यालयको झ्यालढोका र कागजात जलेका छन्, भने भवनको सिलिङ पनि चर्किएको छ ।
राति सवा १ बजेतिर नै दमकलको सहयोगमा बिस्फोटपछि भएको आगलागी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

वडा कार्यालयमा पाँच फिटको कम्पाउन्ड र गेट छ। बिस्फोटनकारीले गेट नाघेर घटना गराएको प्रहरीले जनाएको छ। शंकास्पद छ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार बिस्फोट विप्लव माओवादी गराएको हुनसक्ने आशंका गरिएको छ। मंगलबार साँझ सरकारले विप्लव माओवादीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। त्यसको प्रतिक्रियास्वरुप बिस्फोट गराएको हुनसक्ने प्रहरीको अनुमान छ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार  ६ : २१ बजे