सीके राउतद्वारा जनकपुरमा राष्ट्रिय परिषद् बैठक आह्वान, स्वतन्त्र मधेशको माग यथावतै रहेको सर्कुलर



काठमाडौं फागुन, ३०– स्वतन्त्र मधेशको माग गर्दै आएको सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद् बैठक बस्ने भएको छ। परिषद् बैठक आगामि चैत ४ र ५ गते जनकुपुरमा बस्ने मिति तय गरिएको छ ।
अघिल्लो शुक्रबार मात्रै सरकारसँग ११ बुँदे राजनीतिक सहमति गरी मूलधारको राजनीतिमा फर्किएका राउतले गठबन्धनको राष्ट्रिय परिषद् बैठक बोलाएका हुन्।

गठबन्धनले सरकारसँग गरेको सम्झौतालाई ऐतिहासिक सफलता र विजय भएको बताउँदै यसपछिको रणनीति तय गर्न बैठक डाकेको बुझिएको छ ।

राष्ट्रिय परिषद् बैठकमा सामेल हुने सबै पार्टी सदस्यलाई चैत ४ गते सोमबार बिहान ‍७ बजे भित्रै कार्यक्रम स्थलमा आउन सूचित गरिएको छ।

सरकारसँग सहमति गरेको दोस्रो दिनमै गृहनगर जनकपुर पुगेका राउतको गठबन्धनका नेताकार्यकर्ताले भव्य स्वागत गरेका थिए।

सीकेसँगको सहमतिसँगै सरकारको चर्को आलोचना भइरहेको छ । सहमतिपछि मधे शझरेका राउतको स्वागतमा सहमति विपरित पूरानै झण्डा र ब्यानर प्रयोग गरेको भनेर आलोचना भइरहेको छ । सहमतिप्रति मिडिया, नागरिक समाज र मधेशी जनताको प्रतिक्रिया नियालीरहेको सीकेका नेता कार्यकर्ताले बताएका छन् । त्यही कुराको विश्लेषण र छलफल गरेर आगामी दिशा तय हुने उनीहरुको भनाइ छ । स्वतन्त्र मधेशको माग छोडेको भन्ने चर्चा चलिरहेकाबेला मधेशी जनतालाई धोका नदिएको उनीहरुले बताउने गरेका छन् । सीके निकट एक नेताले भने, ‘स्वतन्त्र मधेशको माग यथावतै छ, रणनीति अनुसार सम्झौता भएको भनेर गठबन्धनभित्र सर्कुलर गरिएको छ ।’

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहिबार  ७ : ०८ बजे