जनकपुरधाम फागुन, ३०–
मध्यतराईको भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्रको जनकपुरमा भव्य स्वागत भएको छ । जनकपुरमा उनका समर्थक, शिव सेनाका प्रतिनिधि, साधु–सन्त, हिन्दू धर्मका अनुयायीसहितले पूर्वराजालाई स्वागत गरेका थिए । बुधबार राति पौने ८ बजे पूर्वराजा ज्ञानेन्द्र साह जनकपुर आउँदा उनको भव्य स्वागत गरिएको छ । उनका समर्थकहरु घण्टौसम्म फूलको माला लिएर लाइन लागेका थिए ।
‘राजा ल्याऊ देश बचाऊ, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ जस्ता नारा घन्काउँदै पूर्वराजालाई स्वागत गरिएको थियो । झापाबाट प्रदेश २ राजधानी जनकपुर आएका उनी होटेल सिताशरणमा बसेका छन् ।
मुश्लिम समुदायका व्यक्ति समेत पूर्वराजालाई स्वागत गर्ने लाइनमा देखिएका थिए । यद्यपि, मुश्लिम समुदायका व्यक्तिले पनि राजालाई मान्ने गरेका थिए । उनीहरु हातमा माला लिएर राजाको प्रतिक्षा गरिरहेका देखिन्थे ।
पूर्वराजा बिहीबार सर्लाही र शुक्रबार उदयपुर जाने कार्यक्रम छ । उनले शुक्रबार नै दिउँसो ४ बजे जानकी मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको छ । शनिबार उनी सप्तरीको छिन्नमस्ता शक्तिपीठमा गएर पूजापाठ गर्नेछन् ।
पूर्वराजानिकट व्यक्तिहरुले जनाए अनुसार यो यात्रा धार्मिक यात्रा मात्रै भएको बताउने गरेका छन् ।