मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्मला हत्या प्रकरणः ६ प्रहरीलाई धरौटीमा छाड्न अदालतको आदेश



काठमाडौं फागुन, ३०–
निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा प्रमाण नष्ट गरेको तथा निर्दोषलाई यातना दिएको अभियोग लागेका ६ प्रहरीलाई धरौटीमा छाड्न जिल्ला अदालत कञ्चनपुरले आदेश दिएको छ ।
न्यायाधीश राजेन्द्र कुमार आचार्यको एकल इजलासले दुई प्रहरीलाई दुई मुद्दामा र अन्यलाई एक मुद्दामा धरौटी माग्ने आदेश गरेको हो । अदालतले डीएसपी ज्ञान बहादुर सेठी, इन्सपेक्टर एकेन्द्र खड्कालाई जनही ९ लाख धरौटी माग्ने आदेश दिएको अदालत स्रोतले जनाएको छ ।
उनीहरूसँग यातनामा ५÷५ लाख र सार्वजनिक न्यायमा ४÷४ लाख धरौटी माग्ने आदेश अदालतले गरेको हो । इन्सपेक्टर जगदीश भट्टसँग ४ लाख, सई हरिसिंह धामी ३ लाख ५० हजार, रामसिंह धामी ३ लाख र प्रहरी जवान चाँदनी साउदसँग २ लाख ५० हजार धरौटी माग गर्ने आदेश गरेको छ । उनीहरुले धरौती बुझाएमा रिहा हुनेछन् भने नबुझाएमा थुनामा रहनेछन् ।

मुलुकी ऐनको नयाँ व्यवस्था अनुसार ६ जना प्रहरीहरुलाई फागुन २३ गते जिल्ला अदालत उपस्थित गराइएको थियो । उता तत्कालिन एसपी डिल्लीराज विष्ट र डिएसपी अगुंर जिसी भने सम्पर्कविहिन छन् । उनीहरुलाई २१ दिनभित्र अदालत उपस्थित हुन म्याद थप गरिएको छ भने प्रहरीले फरारको सूचीमा पनि राखेको छ ।

निर्मला हत्या प्रकरणमा अनुसन्धानको क्रममा अभियुक्तलाई यातना दिएको र प्रमाण नष्ट गरेको भन्दै २ वटा छुट्टाछुट्टै मुद्दा गत पुस ३ गते दर्ता भएको थियो । निर्मलाकी आमा दुर्गादेवी पन्त र दिलिपसिंह विष्टका दाजु खड्ग विष्टको जाहेरीका आधारमा २ वटा छुट्टाछुट्टै मुद्दा दर्ता भएको थियो ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहिबार  १० : ५४ बजे