अब अनिवार्य सीप सिकेको प्रमाणपत्र भए मात्रै वैदेशिक रोजगारीमा जान पाईने



काठमाडौं चैत, १–
वैदेशिक रोजगारीमा जाने कामदारका लागि सरकारले सीप अनिवार्य गर्ने भएको छ । वैदेशिक रोजगार प्रर्वद्धन बोर्डले आउदो वैशाखदेखि रोजगारीमा जाने कामदारका लागि सीप अनिवार्य गर्ने बताएको छ । उसले रोजगारीमा विदेश जाने कामदारले विदेश उड्नुअघि अनिवार्य तालिम लिनुपर्ने नियम लागु गर्न लागेको हो । कुन र कस्तो काममा जाने हो, त्यो विषयमा तालिम लिएको प्रमाणपत्र पेश गरेपछि मात्र अन्तिम श्रम स्वीकृति वितरण गरिने पर्वद्र्धन बोडको भनाइ छ । विदेशमा श्रम गर्न जानेले तीन देखि ६ महिनाको तालिम लिनुपर्ने अनिवार्य व्यवस्था गर्न लागिएको हो ।

शुक्रबार वैदेशिक रोजगार प्रर्वद्धन बोर्डले आयोजना गरेको कार्यक्रममा बोल्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले सरकारले वैदेशिक रोजगारी क्षेत्रका विकृति अन्त्य गर्दै नयाँ संरचना निर्माण गर्न लागिपरेको बताए ।
उनले वैदेशिक रोजगारी पीडितलाई सरकारले स्थानीय तहबाट क्षतिपूर्ति दिने व्यवस्था गर्न लागेको पनि बताए ।

देशविदेशमा रहेका श्रमिकको विषयमा धेरै चिन्तित भएर काम गरिरहेको उनको भनाइ थियो । वैदेशिक रोजगार क्षेत्र भित्र व्यापक समस्या भएकाले समाधान गदै लैजाने उनले बताए ।

बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले वैदेशिक रोजगारीका क्रममा भइरहेको मृत्युदर घटाउनका लागि बोर्डले निरन्तर प्रयास गरेको बताए । उनले रोजगारमा कार्यरत कामदार विदेशमा कसरी ज्यान गुमाइरहेका छन् भने विषयमा अनुसन्धान समेत थालिएको जानकारी गराए ।

प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार  १० : १८ बजे