काठमाडौं चैत, ३–
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस भित्र आन्तरिक द्वन्द्व बढिरहेका बेला पार्टीका वरिष्ठ नेताहरुलाई आफ्नै निवास बुढानिलकण्ठमा बोलाएका हुन् । सोमबार केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि नै सहमतिको प्रयास गर्ने भन्दै सभापति देउवाले आइतबार अपरान्ह नेताहरुलाई आफ्नै निवासमा बोलाएका हुन् ।
उक्त बैठकमा वर्तमान पदाधिकारी र पूर्वपदाधिकारीहरु सहभागी हुने कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
केन्द्रीय कार्यसमिति बैठकमा विशेष गरी विधान बनेपछि पार्टी नियमावली बनाउनु पर्ने विषयमा आजको बैठकमा छलफल हुने प्रवक्ता शर्माको भनाइ छ ।
त्यसैगरी देशभर अन्तरिम समिति गठन, अनुशासन समिति र निर्वाचन समिति बनाउनु पर्ने भएकाले त्यस विषयमा पनि छलफल हुने प्रवक्ता शर्माले जानकारी दिए ।
सभापति देउवाले कांग्रेसभित्रका असन्तुष्ट पक्षीय नेताहरूले पार्टी अनुशासन समितिसहितका निकाय सहमतिबाटै गठन गर्नुपर्ने अडान दोहोर्याइरहेका बेलामा सहमतिको प्रयास थालेका हुन् ।
बहुमतको आधारमा निर्णय गर्न खोज्ने हो भने कार्यसमिति बैठक नै बहिस्कार गर्ने भनी देउवा इतर पक्षले बताएपछि देउवा सहमतिका लागि प्रयासमा जुटेका हुन् ।
त्यसो त देउवाले आइतबार बैठक डाकेपछि शनिबार नै पूर्व महामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा असन्तुष्ट पक्षको बैठक बसेको थियो । सो बैठकले अनुशासन, निर्वाचन समिति सहमतिबाटै गठन गर्नु पर्ने पुरानो अडान दोहोर्याएको छ ।
देउवालाई पूर्वाभ्यास गर्न सजिलो हुने गरी सिंहको निवासमा बसेको भेलाले गरेको निर्णयले आइतबारको भेलाबाट निष्कर्ष निस्कने सम्भावना भने देखिदैन ।
वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्ष स्पष्ट रुपले नै सहमतिमा अनुशासन समितिदेखि निर्वाचन समितिसम्म गठन गर्नुपर्ने जोडमा छ ।
देउवा इतर पक्षले पार्टीको पुसमा सम्पन्न महासमिति भेलाले निष्कर्षमा पुर्याएको विधानको भावना नमेट्ने गरी केन्द्रीय कार्यसमिति बैठकबाट बनाउन दिएको म्यान्डेटलाई संशोधनसहित प्रस्तुत गर्न गर्न माग गरिरहेको छ ।
उता संस्थापन पक्षले भने बहुमतको आडमै भए पनि आफू सुहाउँदो विधान तयार गर्न खोजिरहेको छ ।