मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बर्दिवास महोत्सवमा आफ्नै नेता प्रमुख अतिथि बन्नुपर्ने नेकपाको दबाव



महोत्तरी चैत, ३–
बर्दिवास महोत्सवमा प्रमुख अतिथि को हुने भन्ने चर्को विवाद उत्पन्न भएको छ । महोत्तरीको बर्दिवासमा हुने दोस्रो बर्दिवास महोत्सवमा प्रमुख अतिथि आफ्नो पार्टीको नेता हुनुपर्ने सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विवादले तनाव उत्पन्न भएको हो ।

चैत ८ देखि १८ गतेसम्म बर्दिबास उद्योग वाणिज्य संघको आयोजनामा हुनलागेको महोत्सव प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतबाट उद्घाटन गर्ने निर्णय भएकोमा नेकपाले आफ्ना नेतालाई प्रमुख अतिथि बनाउन माग गरेको हो । मुख्यमन्त्रीलाई निमन्त्रणा पनि पठाइसकेको आयोजकले जनाएको छ ।

यद्यपी मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले महोत्सवमा मुख्यमन्त्री सहभागी हुने वा नहुने औपचारिक जानकारी गराएको छैन ।

यता जिल्लाका नेकपा नेताहरुले भने आफ्नो पार्टीका नेतालाई प्रमुख अतिथि बनाउनुपर्ने भन्दै दबाव दिएका छन् । उनीहरुले आफूहरुसँग सल्लाह नगरी प्रमुख अतिथि तोकिएको भन्दै उद्योग वाणिज्य संघको विरोध जनाएका छन् । उनीहरुले नेकपा नेताहरु शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहाल वा स्थानीय तहमा निर्वाचित नेकपा प्रतिनिधिबाट महोत्सव उद्घाटन गराउनुपर्ने अडान राखेका छन् ।

नेकपाले प्रमुख अतिथि परिर्वतन गर्न वा महोत्सव सार्न आयोजकलाई दवाव दिएको छ । नेकपाकै अडानका कारण आइतबार बसेको सर्वदलीय बैठक विना निश्कर्ष सकिएको छ ।

संघका अध्यक्ष प्रहलाद क्षेत्रीले महोत्सव सम्पूर्ण बर्दिवासबासीको प्रतिष्ठाको बिषय भएको भन्दै प्रमुख अतिथि फेर्ने वा महोत्सव सार्ने विषयले राजनितिक रुपमा राम्रो सन्देश नजाने बताए ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ७ : ५६ बजे