काठमाडौं चैत, ३–
स्वतन्त्र मधेसको अभियान चलाउदै आएको सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनको राष्ट्रिय परिषद् बैठक सुरु भएको छ । सिराहाको लहान नगरपालिका–७ स्थित माडवारी सेवा सदनमा बैठक सुरू भएको हो । बैठकमा सहभागी हुनका लागि मधेसका २२ वटै जिल्लाहरूबाट परिषद् सदस्यहरू सहभागी हुँदैछन्।
बैठकस्थलको मूलगेटबाटै राउतका आन्तरिक सुरक्षाकर्मीले कार्यक्रमस्थलको सुरक्षा दिइरहेका छन्। नेपाल प्रहरीले भने मूल गेट बाहिर सुरक्षा दिइरहेका छन्।
कार्यक्रमस्थल मारवाडी सेवा सदनभित्र प्रवेश गरेका नेपाल प्रहरीका दुई जनालाई राउतका आन्तरिक सुरक्षाकर्मीले बाहिर निकालिदिएको स्रोतले जनाएको छ ।
कार्यक्रममा सहभागी हुन आएका गठबन्धनका कार्यक्रर्तालाई समेत मूलगेटमै कडा सुरक्षा जाँचपछिभित्र प्रवेश दिइरहेको छ ।
गेटमै नागरिकताको प्रमाण पत्र, देखाएर सुरक्षा जाँच गराइभित्र प्रवेश गर्न दिइरहेको बताईएको छ । बैठकबाट आगामी रणनीति समेत तय गरिने बताईएको छ ।
सरकारसँग भएको ११ बुँदे सहमतिलाई गठबन्धनले रणनीतिक जितको रूपमा लिएको छ। जनअभिमतलाई जनमत संग्रहको रूपमा अर्थ्याउँदै आएको गठबन्धनले यसलाई रणनीतिक जित भन्दै जनतामाझ सशक्त रूपमा जाने निर्णय समेत गर्न सक्ने स्रोतले बतायो।
सोमबार बैठक सम्पन्न भएपछि सार्वजनिक गर्न मिल्ने निर्णयहरू सञ्चारकर्मीमार्फत् सार्वजनिक गर्ने बताईएको छ ।
सीके राउतको चैत ५ गत्ते मंगलबार नागरिक अभिनन्दन समेत गरिने भएको छ ।