मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाद्वारा आज पनि संसद बैठक अवरुद्ध



काठमाडौं चैत, ३–
राष्ट्रिय जनता पार्टी (राजपा) ले आज पनि संसद बैठक अवरुद्ध गरेको छ । आइतबार अपरान्ह संसद बैठक सुरु हुनासाथ राजपाका सांसदहरुले उभिएर संसद अवरुद्ध गरेका हुन् ।

राजपाले पूर्वन्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा बनेको प्रतिवेदन सार्वजनिक नभएसम्म संसद चल्न नदिने भन्दै बैठक अवरुद्ध गरेको हो । टीकापुरलगायत तराई मधेसमा भएका आन्दोलनको घटनाको छानबिन गर्न गठित उक्त आयोगले सरकारलाई प्रतिवेदन बुझाए पनि सार्वजनिक भएको छैन ।

संसदमा उभिएर बोल्दै राजपा नेता लक्ष्मणलाल कर्णले भन, ‘आन्दोलनमा कोही दोषी हो कि होइन भन्ने विषय राज्यले बनाएको आयोगबाट थाहा हुने भन्दै कर्णले भने ‘पटक पटक यो गलतफहमी किन ?’

उनले थपे ‘सम्पूर्ण आन्दोलनको मुद्दा फिर्ता हुन्छ, तर दुर्भाग्य छ, हामी मधेसी र थारुको मुद्दा समझमा आउँदैन ?’

यसअघि गत बुधबार पनि राजपाले संसद बैठक अवरुद्ध गरेको थियो । उक्त बैठकमा सभामुख कृष्णबहादुर महराले उक्त प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएका थिए । तर अहिलेसम्म सार्वजनिक भएको छैन ।

सभामुख कृष्णबहादुर महराले आयोगको प्रतिवेदन सार्वजनिक गर्न आफूले सरकारको ध्यानाकर्षण गराइसकेको भन्दै राजपा सांसदलाई बस्नका लागि अनुरोध गर्दा पनि उनीहरुले बस्न नमानेका हुन् । राजपाका सांसद निरन्तर उभिईराखेपछि सभामुख महराले १० मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ९ : ५१ बजे