विप्लवका कार्यकर्ताद्वारा हिरासतमै अनसन



प्यूठान चैत, ४–
प्यूठानमा विप्लव समूहका एक बन्दीले कारागारले ‘आस्थाका बन्दी’को व्यवहार नगरेको भन्दै कारगार भित्रै आमरण अनसन सुरु गरेका छन् । विप्लव समूहमाथि सरकारले प्रतिबन्ध घोषणा गरेर कडाइ गरिरहेका बेला विप्लव नेकपाका कार्यकर्ता पदम पोखरेल अनसन बसेका हुन् ।

उनी विप्लव नेतृत्वको नेकपाका विद्यार्थी नेता हुन् । केही दिनअघि पक्राउ परेका पोखरेलले आफू पार्टीका कुनै पनि गतिविधिमा संलग्न नहुँदा–नहुँदै पनि आफूलाई नियन्त्रणमा लिएको गुनासो गरेका छन् ।
प्रहरीले अपराधीलाई जस्तो व्यवहार गरेकाले ३६ घण्टादेखि अनसनमा बसेको उनको भनाइ छ ।
हिरासतका बन्दीलाई हुनुपर्ने न्यूनतम व्यवहारसमेत नभएको उनको गुनासो छ । तर, प्यूठान प्रहरी प्रमुख डीएसपी निर्मल बुढाथोकीले भने आरोप अस्वीकार गरे । हिरासतका अन्य कैदी सरह नै उनीहरुलाई सेवा–सुविधा दिएको बुढाथोकीको भनाइ छ ।

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार  ७ : ०६ बजे