काठमाडौं चैत, ४–
नेपाली कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघका नेता कार्यकर्ताले पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिएका छन्। नेविसंघका नेता कार्यकर्ताले पार्टीको केन्द्रीय कार्यसमिति बैठक सुरु हुन लागेकै दिन धर्ना बसेका हुन् । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहका नेविसंघ नेता, कार्यकर्ताले १२ औं महाधिवेशन गर्नका लागि नेविसंघको तदर्थ समिति बनाउनुपर्ने माग गर्दै धर्ना दिएका हुन् । बैठकका लागि पार्टी कार्यालयमा शीर्ष नेताहरू आउने क्रम बढेपछि भातृ संगठन नेपाल विद्यार्थी संघले तदर्थ समिति गठनको माग गर्दै कार्यालयमा धर्ना दिएका हुन् ।
नेविसंघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टले नेविसंघको विधान कार्यान्वयन गर्नुपर्ने, तदर्थ समिति गठनमा ३२ वर्षे उमेर हद कायम राख्नुपर्ने लगायत माग राखेर महाधिवेशनको वातावरण बनाउन दबाब दिन धर्ना गरिएको बताए । तत्कालिन ने्विसंघ अध्यक्ष नैनसिंह महरले आफ्नो कार्यकाल सकेर थपिएको समयभित्र पनि १२ औं महाधिवेशन गर्न नसक्दा सभापति राजीनामा दिएका थिए । त्यसपछि नेविसंघ नेतृत्वविहीन छ । पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री सिटौला समूहको गुटगट छाया नेविसंघभित्र पनि निरन्तर विवाद हुँदै आएको छ ।
कांग्रेसले आज पार्टीभित्र अनुशासन र निर्वाचन समिति गठन गर्नेबारे छलफल गर्न बैठक डाकिएको हो।
केन्द्रीय समिति बैठक बस्नुअघि शीर्ष नेता छुट्टै बैठक बस्ने प्रवक्ता विश्वप्रकाश शर्माले बताए। आजको बैठकमा नेविसंघ भित्रको समस्याका बारेमा पनि छलफल हुने बताईएको छ ।
सभापति शेरबहादुर देउवा सहमतिबाट नै अनुशासन तथा निर्वाचन समिति गठन गर्नेमा छन्। यसअघि उनले आइतबार नेताहरूलाई निवासमै बोलाएर पनि छलफल गरेका थिए।
४ चैत्र २०७५, सोमबार
0
Shares