अझैं कांग्रेस केन्द्रीय समिति बैठक बस्न सकेन, देउवा पौडेल र शशांकको पार्टी कार्यालयमै गोप्य बैठक



काठमाडौं चैत, ४–
नेपाली कांग्रेसका शीर्ष नेताहरुको गोप्य बैठक चलिरहेको छ । पार्टी कार्यालय सानेपा भित्रैको एक कोठामा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल तथा महामन्त्री शेरबहादुर देउवाबीच गोप्य बैठक भैरहेकोख कांग्रेस नेताहरुले बताएका छन् । मुख्य नेताहरु नै गोप्य बैठकमा व्यस्त भएपछि बिहान ११ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठक दिउँसो २ बजेसम्म बस्न सकेको छैन। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकका लागि पार्टी कार्यालय सानेपा पुगेका सांसदसमेत रहेका केन्द्रीय सदस्य संसद बैठकमा भाग लिन गएपछि बैठक अनिश्चित भएको छ।

सांसद तथा कांग्रेस केन्द्रीय सदस्य गगनकुमार थापाले प्रतिनिधिसभा बैठकमा भाग लिन आफूहरू संसद भवन तिर गएको बताए ।
उनले भने, ‘हामी संसद जानुपर्ने छ। संसदमा महत्वपूर्ण विषयमा छलफल हुँदैछ, ।’

प्रधानमन्त्रीले नेपाली सेना खटाउन सक्ने अधिकारसहित सरकारले राष्ट्रिय सुरक्षा विधेयक तयार गरेकोमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले विरोध गर्दै आएको छ। प्रधानमन्त्रीले आफूमातहत शक्ति केन्द्रीत गरेर थप अधिनायकवादी बन्न खोजेको कांग्रेसको आरोप छ।

सांसद समेत रहेका केन्द्रीय सदस्य पार्टी कार्यालयबाट हिँडेपनि अन्य केन्द्रीय सदस्य भने कार्यालयमै छन्। अनुशासन समिति, निर्वाचन समिति र नेपाल विद्यार्थी संघको तदर्थ समिति सहमतिबाटै बनाउने गृहकार्य गर्दै सभापति देउवा र बरिष्ठ नेता छुट्टै कोठामा छलफलमा छन्।

कांग्रेस केन्द्रीय सदस्य मीनेन्द्र रिजालले शीर्ष नेताहरूबीच छलफल चलिरहेकोले बैठक बस्न समय लाग्ने बताए ।

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार  ८ : ५७ बजे