विश्व आविष्कारमा नेपालको स्थान बनाउन नास्टको चारवर्षे रणनीतिक योजना सार्वजनिक



काठमाडौं चैत, ५–
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले खोज र अन्वेषणलाई प्राथमिकतामा राखेर चारवर्षे रणनीतिक योजना बनाउने भएको छ ।

सोमबार प्रतिष्ठानले आयोजना गरेको पत्रकार सम्मेलनमा नवनियुक्त उपकुलपति डा. सुनीलबाबु श्रेष्ठले विज्ञान र प्रविधिमा आधारित अर्थतन्त्र विकासमा लाग्ने बताए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

उनले भने, ‘लामो समयसम्म नास्ट पूर्वाधार निर्माण र नीतिगत व्यवस्थामै अल्मिलियो, अब नतिजामुखी अनुसन्धानमा केन्द्रित गर्न रणनीतिक योजना बनाएर अघि बढ्ने तयारीमा छौँ ।’ आफ्नो कार्यकालमा नास्टलाई नवीन आविष्कारका क्षेत्रमा अगाडि बढाउने योजना रहेको उनले बताए ।

०३९ मा विज्ञान र प्रविधिको क्षेत्रमा कार्य गर्ने ध्येयले स्थापित नास्टको कुलपति प्रधानमन्त्री रहने व्यवस्था छ । कार्यकारी प्रमुखका रूपमा उपकुलपतिको राजनीतिक नियुक्ति गरिन्छ ।

नास्टमा हालसम्म ८ जना उपकुलपति फेरिएका छन् । तर, नियमित बस्नैपर्ने प्राज्ञ सभाको अध्यक्षता गर्न प्रधानमन्त्रीले नभ्याउँदा प्रतिष्ठानले उल्लेख्य कार्य गर्न नसकेको प्राज्ञहरू बताउँछन् ।

चार वर्षभित्र आविष्कारका क्षेत्रमा नेपालको स्थानलाई दुई अंकमा झार्ने लक्ष्य रहेको श्रेष्ठले बताए । हाल नेपाल १ सय ८औँ स्थानमा छ । सार्क मुलुकमध्ये श्रीलंका ८८औँ स्थानमा छ ।

आविष्कारलाई प्राथमिकतामा राखेर काम गर्ने श्रेष्ठले बताए । रणनीतिक योजनाबमोजिम लगानी र जनशक्ति भने आवश्यक पर्ने उनको तर्क छ । उनले प्रविधिलाई व्यावसायिक बनाउन नसकिएकामा चिन्तासमेत व्यक्त गरे ।

प्रकाशित मिति : ५ चैत्र २०७५, मंगलबार  १ : ३७ बजे