काठमाडौं चैत, ५–
निकै विवादको मन्थनपछि सोमबार राति नेपाली कांग्रेसका नेताहरुले आफ्ना समर्थकहरुलाई राम्रो सन्देश सुनाउन सफल भए । पूर्णता नपाए पनि सोमबार राति नेताहरुले सहमतिमै अनुशासन समिति गठन गर्न सफल भएका छन् । भलै, पौडेल समूहले नाम दिननसक्दा अनुशासन समितिले पूर्णता पाउन नसके पनि अब चाँडै त्यसले पूर्णता पाउने कांग्रेस नेताहरुले बताएका छन् । कांग्रेसमा लामो समयको रस्साकम्सीपछि अनुशासन समिति गठनमा शीर्ष तहमा सहमति जुटेको थियो ।
शीर्ष नेताहरुकै सहमति अनुसार अनुशासन समितिको संयोजक केन्द्रीय सदस्य भिष्मराज आङदाम्बेलाई बनाइएको छ ।
सोमबार बिहान ११ बजेदेखि केन्द्रीय कार्यसमिति बैठक बस्ने भनिए पनि सहमतिका लागि पटक पटक समय फेरिँदै जाँदा राति ८ बजे पछि बैठक बस्न सम्भव भएको थियो ।
पाँच सदस्यीय समितिमा शेरबहादुर देउवा निकटका किशोरसिंह राठौर र देवेन्द्रराज कँडेललाई सदस्य चयन गरिएको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका दुई सदस्यको नाम भएपछि अनुशासन समितिले पूर्णता पाउने छ ।
पौडेल पक्षबाट नविन्द्रराज जोशी, धनराज गुरुङ, कल्याण गुरुङ, जीवन परियार र प्रदीप पौडेलमध्येबाट दुई जना अनुशासन समितिमा जाने छन् ।
यसैबीच केन्द्रीय कार्यसमिति बैठक मंगलबार दिउँसो २ बजे बस्दैछ । आजको बैठकले निर्वाचन समिति पनि बनाउँदैछ ।
मंगलबार राष्ट्रिय सभाका सांसद राधेश्याम अधिकारीको संयोजकत्वमा निर्वाचन समिति बन्ने सम्भावना रहेको कांग्रेस निकट स्रोतको दाबी छ ।
निर्वाचन समितिले मंगलबार नै पूर्णता पाउने समेत बताइएको छ । गत फागुन १४ गतेदेखि यीनै समितिको किचलोले कांग्रेसको केन्द्रीय समिति बैठक बस्न सकेको थिएन ।