कम्युनिष्ट सरकारको गलत नितिले स्थानिय जनप्रतीनिधिहरुले काम गर्न सकेनन्ः कांग्रेस नेता प्रकाशमान सिंह



काठमाडौं चैत, ८–
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारकै कारण जनप्रतिनिधिहरुलाई गाह्रो भएको दुखेसो गरेका छन् । पूर्वमहामन्त्री समेत रहेका नेता सिंहले वर्तमान सरकारको व्यवहारका कारण जनताको चित्त बुझाउन जनप्रतिनिधिहरुलाई गाह्रो भएको बताएका हुन् ।
शुक्रबार चाबहिलमा आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले सरकारले गरेका भ्रष्टचारका पोल विस्तारै खुल्दै जाने बताए । उनले भने, ‘केपी ओलीजी के भन्नुहुन्छ भने म पनि भ्रष्टाचार गर्दिनँ, अरुलाई पनि गर्न दिन्नँ । तर, मेलम्चीको ठेकेदार काम छाडेर हिँड्नुको पोल विस्तारै खुल्दै छ । किनभने मन्त्रीले, सचिवले कमिसन माग्दा रहेछन् ।’
विकास निर्माणको काममा सरकारले बाधा पुर्‍याएको आरोप उनको भनाइ थियो । सरकारको गलत रवैयाका कारण प्रदेश र स्थानीय सरकारले पनि विकासको काम गर्न नसकेको नेता सिंहले प्रष्ट पारे ।

उनले प्रश्न गरे, ‘दुई तिहाई प्राप्त सरकारले के गरेको छ ? निर्वाचनभन्दा अगाडिको अवस्था भन्दा झन् गएगुज्रेको अवस्थामा पुगेको छ ।’आर्थिक रुपमा, सामाजिक रुपमा, हरेक दृष्टिमा यो सरकार असफल भइसकेको उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले संसदलाई सम्बोधन गर्दा काठमाडौंलाई धुलो र हिलोमुक्त बनाउने घोषणा गरेको तर काम नगरेको भन्दै उनले आक्रोश पोखे । ‘काठमाडौंमा मास्कसास्क केही लगाउनु पर्दैन, मैले दुई महिनामै ठीक गर्छु भनेको खै के भयो ?’
अब नेपाली कांग्रेसको आन्तरिक एकता बलियो बनाउनुपर्ने भन्दै नेता सिंहले विगतका गल्ती कमजोरीहरु सुधार्दै अगाडि बढ्नुपर्नेमा वोड दिए । नेपाली कांग्रेसले पहिले आफ्नो घर व्यवस्थित गरेपछि मात्रै आईपर्ने अन्य च्यालेन्जेजहरुलाई व्यवस्थित गर्न सकिने उनको भनाइ छ ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  ७ : ५८ बजे