कपिलवस्तु-
प्रदेश नम्बर ५ कपिलवस्तुको शिवराज नगरपालिका-६, पैकिबण्डामा भिषण आगलागी हुँदा स्थानियका ११ वटा घर र ५ गोठ जलेर नष्ट भएका छन्। आगलागीमा परी केहि स्थानिय घाइते भएका छन्।
आगोले बुधइ कुर्मी, हदिस मियाँ, राहत मियाँ, अब्दुलगनी मुसलमान भगौतीपाल, बहाव मुसलमान, इलाकत मुसलमान, अब्दुल कलाम, सनलाउल्ला मुसलमान, बर्मा कुर्मी, किसलावती कुर्मिको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
आगलागीमा किताबउल्ला मुसलमान, बर्साती चमार, कोदइ कुर्मी, मन्जुर नाउँ र समिम नाउँको गोठ जलेर नष्ट भएको छ। आगलागीले घरमा भएको अन्नपात, लत्ताकपडा, नगद पूर्णरुपमा जलेकाे छ। आगलागीमा एउटा गाई जलेको छ भने २ वटा गोरुसमेत आगोमा परी घाइते भएका छन्।
आगलागीबाट करीब ५४ लाखकाे क्षति भएको अनुमान गरिएकाे छ। आगो निभाउने क्रममा घाइते भएका सनाउल्लाको बहादुरगञ्ज अस्पतालमा उपचार भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ।
आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, तौलिहवा र कृष्णनगर नगरपालिकाका दुई दमकल र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ।