काठमाडौं चैत, १०–
आजको संसद बैठक पनि राष्ट्रिय जनता पार्टी नेपाल(राजपा) ले अवरुद्ध गरेको छ ।
सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाले निरन्तर बैठक अवरुद्ध गर्दै आएको छ । यसअघि सरकारले पूर्वन्यायाधीश लालको नेतृत्वमा मधेस आन्दोलन लगायतका आन्दोलनमा भएको घटनाको छानबिन गर्न समिति गठन गरेको थियो ।
राजपा नेता लक्ष्मणलाल कर्णले सरकारले पटक पटक आश्वासन दिए पनि लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरेकाले आजको संसद बैठक पनि अवरुद्ध गर्ने बताए ।
लगत्तै राजपा सांसदहरु सिटबाट उठेर विरोध जनाए । त्यसपछि सभामुख कृष्णबहादुर महराले १० मिनेटका लागि संसद स्थगित गरेका छन् ।
पटक पटक प्रतिवेदन सार्वजनिक गर्ने प्रतिवद्धता जनाए पनि सरकारले आजसम्म लाल आयोगको प्रतिवेदन सार्वजनिक गरेको छैन ।