निर्मला प्रकरण प्रमाण नष्टको आरोप लागेको पूर्व एसपी बिष्टसँग १० लाख धरौटी माग



कन्चनपुर चैत, १०–
जिल्ला अदालत कञ्चनपुरले तत्कालीन एसपी दिल्लीराज बिष्टसँग जिल्ला अदालतले साढे १० लाख धरौटी मागेको छ। उनीमाथि भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको छानबिनमा प्रमाण नष्ट गरेको अभियोग लागेको थियो ।

जिल्ला अदालत कञ्चनपुरले निर्मला बलात्कारपछि हत्या गरेको आशंकामा पक्राउ परेका दिलिपसिंह बिष्टलाई एसपी बिष्टले हिरासतमा यातना दिएको भन्दै परेको मुद्दामा ६ लाख र प्रमाण नष्ट गरेको भन्दै परेको मुद्दामा साढे ४ लाख धरौटी माग गरिएकोजनाएको छ।

न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले आइतबार दुबै मुद्दामा छुट्टाटुट्टै धरौटी रकम मागेको हो। बिष्टलाई साढे १० लाख बुझाए तारेखमा छोड्न र नबुझाए थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश भएको स्रेष्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए।

कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख बिष्ट र सिआइबीका डिएसपी अंगुर जिसीसहित ८ प्रहरी अधिकारीविरूद्ध प्रमाण नष्ट गरेको र दिलिप सिंह बिष्टलाई यातना दिएको भन्दै प्रहरीले छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो।

साउन १० गते साथीको घरमा पढ्न भन्दै गएकी निर्मला ११ गते मृत अवस्थामा फेला परेकी थिइन्। उनीमाथि बलात्कार भएको पोष्टमार्टम रिपोर्टले देखाएको थियो।

निर्मला बलात्कारपछि हत्याकाण्डको प्रारम्भिक छानबिनदेखि नै प्रहरीले लापरबाही गरेको भन्दै कन्चनपुरमा आन्दोलनसमेत भयो। आन्दोलनका क्रममा एक जनाको ज्यान गयो। उक्त घटनाको छानबिन गर्न भन्दै सरकारले र प्रहरीले छानबिन समितिहरू बनाए पनि अहिलेसम्म अपराधी पत्ता लागेको छैन। ती छानविन समितिले लापरवाही गरेको र प्रमाण नष्ट गरेको प्रतिवेदन दिएपछि बिष्टसहित ८ प्रहरीमाथि मुद्दा चलाइएको हो।

निर्मलालाई बलात्कार गरी हत्या गरेको आशंकामा प्रहरीले स्थानीय दिलिप सिंह विष्टलाई पक्राउ गरेको थियो। बिष्टले आफूले निर्मलालाई हत्या गरेको स्वीकारेको प्रहरीको दाबी थियो। तर निर्मलाको भजाइनल स्वावको नमूनासँग बिष्टको डिएनए नमिलेपछि उनलाई छोडिएको थियो।

दिलिप सिंहका दाजुले प्रहरीले आफ्नो भाइलाई यातना दिएको भन्दै जाहेरी दिएका थिए। उक्त जाहेरीमाथि अनुसन्धान गरी प्रहरीले अदालतमा मुद्दा दायर गरेको हो।

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  ८ : ५० बजे