मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गण्डकी प्रदेशमा मन्त्रीहरुले दोहोरो इन्धन लिएकोबारे छानविन हुने



काठमाडौं चैत, १३–
मन्त्रीहरुले दोहोरो इन्धन लिएको भन्दै समाचारहरु सार्वजनिक भएपछि गण्डकी प्रदेशको लेखा समितिले अध्ययन गर्न समिति गठन गरेको छ । समितिका सभापति कुमार खड्काका अनुसार लेखा समितिको मंगलबार बसेको बैठकमा मन्त्रीहरुले कानुनबिपरीत तोकिएकोभन्दा बढि इन्धन लिए, नलिएको अध्ययन गर्न उपसमिति गठन गरिएको हो ।

इन्धन खर्चबारे अध्ययन गर्न सांसद रामजी बरालको संयोजकत्वमा ३ सदस्यीय अध्ययन समिति गठन गरिएको हो । उक्त समितिमा सांसद मेखलाल श्रेष्ठ र प्रभा कोइराला सदस्य छन् । इन्धन खर्चबारे अध्ययन गरेर १५ दिनभित्र प्रतिवेदन बुझाउन उपसमितिलाई निर्देशन दिईएको सभापति खड्काले जानकारी गराए । मंगलबार बैठकमा प्रदेशका सचिबहरु सगँ छलफल गरेपछि उक्त उपसमिति गठन गरिएको हो ।

त्यसै गरि लेखा समितिले गण्डकी प्रदेशका सबै स्थानीय तहमा लेखा समिति गठन गर्न निर्देशन दिएको छ । बैठकले अनिवार्य रुपमा प्रदेशका ८५ वटै स्थानीय तहमा लेखा समिति गठन गराउन आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई निर्देशन दिएको छ ।

स्थानीय तह सभा सञ्चालक ऐनको धारा ३५ को उपधारा १ मा मा लेखा समिति गठन बारे व्यवस्था गरिएको छ । ऐनअनुसार स्थानीय तहमा लेखा समिति गठन भएको नभएको हेरेर अनिवार्य गठन गराउन कानुन मन्त्रालयलाई निर्देशन दिएको हो ।

लेखा समिति नहुँदा अध्यक्षहरुले मनामानी रुपमा खर्च गर्ने भन्दै तत्काल गठन गर्न निर्देशन दिएको हो । त्यस्तै, लेखासमिति बैठकले क्रसर उद्योग सञ्चालन सम्बन्धमा र गण्डकी प्रदेश सरकारले बाँडेको रकमकाबारे जानकारी माग्ने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  ५ : ४३ बजे