मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री ओली साँच्चिकै अधिनायकबादी हुन खोज्दैछन : कांग्रेस महामन्त्री कोइराला



दाङ चैत, १३–
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले २१औं शताब्दीमा विप्लवलाई आतंकारी घोषणा गरेर दमन गर्न संभव नभएको बताएका छन् । बुधबार दाङको घोराहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री कोइरालाले विप्लवलाई प्रतिबन्ध गरेर सरकारले देशमा सशस्त्र द्वन्द्व सिर्जना गर्ने काम गरेको आरोप लगाएका हुन् ।
उनले असन्तुष्ट पक्षलाई वार्ता र संवादका माध्यमबाट सहमतिमा ल्याउनु सरकारको जिम्मेवारी रहेको हुँदा हुँदै त्यसविपरीत सरकारले प्रतिबन्ध लगाएर गलत गरेको दाबी गरे ।
उनले वार्ता विप्लवसँग गर्नुपर्ने भए पनि सरकारले सिके राउतसँगमात्रै गर्नु गलत भएको बताए ।

उनले भने, ‘विगतमा माओवादीले गरेको दस वर्षे सशस्त्र द्वन्द्वबाट पाठ सिकेर सरकारले देशलाई द्वन्द्वमा जानबाट रोक्न वार्ता र संवादको वातावरण बनाउनुपर्छ ।’
वार्ता र संवादमार्फत् नै राज्यले समस्या समाधान गर्न लाग्नु बुद्धिमानी हुने महामन्त्री कोइरालाको भनाइ छ ।

सशस्त्र द्वन्द्वले देशलाई ठूलो नोक्सान गर्ने हुँदा ओली सरकारले विगतको माओवादी आन्दोलनबाट धेरै कुरा सिक्नुपर्ने कोइरालाको सुझाव छ।

देशमा हत्या र हिंसा रोक्न सरकारले बेलैमा सोच्नुपर्ने र त्यसका लागि वार्ताको वातावरण बनाउनुपर्ने उनको जोड थियो।

विगतमा १७ हजार मानिस मारिएको स्मरण गर्दै महामन्त्री कोइरालाले युद्धरत माओवादीलाई वार्ता र संवादका माध्यमबाट शान्ति प्रक्रियामा ल्याउन गिरिजाप्रसाद कोइरालाको महत्वपूर्ण भूमिका भएको उल्लेख गरे । कोइरालाले त्यसबाट पाठ सिक्दै अहिले विप्लवलाई हिंसाको बाटोबाट रोक्न प्रधानमन्त्रीले ध्यान दिन सक्नुपर्ने बताए।
उनले सरकारका कारण अहिले देश अप्ठ्यारो परिस्थितिमा पुगेको टिप्पणी गरे। महामन्त्री कोइरालाले प्रधानमन्त्री ओली सम्पूर्ण अधिकार आफूमा केन्द्रित राज्य कब्जा गर्ने रणनीतिमा अघि बढेको दाबी गरे । उनले भने, ‘सेना परिचालनको अधिकार आफूमा ल्याउन खोज्नु, प्रेस स्वतन्त्रतामा बन्देज लगाउन खोज्नु र न्यायालयमाथिको प्रहार लगायतका घटनाले प्रधानमन्त्री स्वच्छाकारी बन्दै गएको देखिन्छ, ।’ प्रधानमन्त्रीमा बढ्दै गएको महत्वाकांक्षाले देशलाई भविष्यमा कहाँ पुरयाउने हो आफूहरुलाई यसैको चिन्ता रहेको महामन्त्री कोइरालाको भनाइ थियो ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  ७ : ५८ बजे