मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एसईईको समयमा नेपाल बन्द नगर्न विप्लवलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह



काठमाडौं चैत, १३–
राष्ट्रिय मानवअधिकार आयोगले विप्लव समूहले घोषणा गरेको नेपाल बन्द फिर्ता लिन आग्रह गरेको छ । आयोगले बुधबार एक विज्ञप्ति जारी गर्दै माध्यमिक शिक्षा परीक्षा (एसईई) को समयमा नेपाल बन्द नगर्न विप्लव नेतृत्वको नेकपालाई आग्रह गरेको हो ।

आयोगले जारी गरेको विज्ञप्तिमा एसईई परीक्षा र नेपाल बार एशोसिएसनको निर्वाचन परेकाले चैत १६ गते नेपाल बन्द नगर्न आग्रह गरिएको छ । चैत १६ गते माध्यमिक शिक्षा परीक्षमा जनसंख्या तथा वातावरण विषयको परीक्षा परेको छ ।
बन्दले आम नागरिकको स्वतन्त्रतापूर्वक हिँडडुल गर्न पाउने अधिकार, स्वास्थ्य, शिक्षा, पेशा व्यवसाय र रोजगारीलगायतको अधिकार उपभोगमा बाधा पुग्ने भन्द आयोगले त्यस्ता गतिविधि नगर्न आग्रह गरेको हो । सचिव वेद भट्टराईद्वारा जारी विज्ञप्तिमा चन्दा, विस्फोट, हत्या हिंसायुक्त काम नगर्न र भययुक्त वातावरण सिर्जना नगर्न पनि विप्लव समूहलाई आग्रह गरिएको छ ।

त्यसैगरी आयोगले राजनीतिक विचार, आस्था र आशंकाका भरमा कुनै पनि नागरिकलाई धरपकड नगर्न र संविधानप्रदत्त अधिकार प्रयोगको वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ ।

आयोगले वार्ताबाटै समस्याको निकास निकाल्न पनि विप्लव समूह र सरकारलाई आग्रह गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि द्वन्द्व, विमति वा संघर्षको स्थितिलाई प्रतिद्वन्द्व वा विवादबाट भन्दा वार्ता र संवादबाटै निराकरण गर्न सकिने भएको र नेपालमा पनि विगतमा भएका सशस्त्र द्वन्द्व तथा विभिन्न प्रकारका संघर्ष एवं आन्दोलनहरु वार्ता र संवादबाटै अन्त्य भएको दृष्टान्तलाई आत्मसात गर्दै त्यसतर्फ गम्भीर रहन पनि आयोग संवद्ध सबै पक्षलाई आग्रह गर्दछ ।’

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  १० : ३६ बजे