काठमाडौं चैत, १३–
नेपाली कांग्रेसका नेताहरु यतिवेला देश दौडाहमा लागेका छन् । शीर्ष स्तरकै नेताहरु देश दौडाहमा लागेपछि नेपाली कांग्रेसका कार्यकर्तामा पनि एक प्रकारको रौनक थपिएको छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल देश दौडाहको तालिका बनाएर विभिन्न जिल्लाका पार्टीका कार्यक्रमदेखि पार्टीका भातृसंस्थाका कार्यक्रममा सहभागी भैरहेका छन् । बुधबार वरिष्ठ नेता पौडेल प्रदेश नम्बर २ को धनुषाको बालाबाखरमा आयोजित विशाल आमसभालाई सम्बोधन गर्न पुगेका हुन् । वरिष्ठ नेता पौडलले उक्त स्थानको विशाल आमसभालाई सम्बोधन गर्दै कम्युनिष्टहरुको सरकारले जनतालाई सरकारको अनुभुति दिन नसकेको आरोप लगाए । उनले मधेश पहाड हिमालको सुन्दर समायोजन रहेको भन्दै त्यसमा कता कता संवादको कमी भएको भएको बताए । उनले भने, ‘हुकुमी शासनको पालामा मधेश पहाड हिमाललाई बेग्ला बेग्लै हेर्ने दृष्टिकोण भएको थियो ।
त्यतीखेर हुकुमी शासन निरंकुशताको ह्याङओभार अझै गएको छैन् । यसबाट मुक्त गर्नु मेरो लक्ष्य हो ।’ आजको सरकारले जनताको आवश्यकता बुझ्न नसकेको भन्दै नेता पौडेलले यो देशमा सरकारले समृद्धि दिन नसकेको बताए । यो मुलुकमा कृषि क्रान्ति गरेर उर्जा शक्तिको विकास र पर्यटको विस्तार गरेर मुलुकलाई समृद्धी तर्फ लानु जरुरी रहेको उनको भनाइ छ । कांग्रेस वरिष्ठ नेता समेत रहेका पौडेलले भने, ‘जब मधेशका जनताले पहाडको योजनाको शेयर पाउछ अनि मधेशको अन्नले पहाड बाँँच्नेछ अनि मात्र नेपाल समृद्ध हुन्छ । नेपाल सुन्दर हिमाल र पहाडले मात्र बनाएको होइनन् ।
तराईले नेपाललाई सुन्दर बनाएको छ । स्वीजरल्याण्ड भन्दा पनि नेपालमा प्राकृतिले बनाएको सुन्दरता छ । हामीसँग जे छ त्यो संसारमा कसैसँग छैन् ।’ उनले आफूहरुसँग झल झल बल्ने हिमाल भएको उल्लेख गर्दै उर्लेर बग्ने नदीबाट आएको पहाडको पानीबाट तराईका जनताले आम्दानी पाउनुर्नेमा जोड दिए । उनले भने, ‘तराईका जनतालाई पानी अभाव छ ।
प्रधानमन्त्री केपी ओली कता बाट पानी जहाज ल्याउने कुरा गर्दछन् ? पहाड मधेश र हिमाल जनतालाई एकैपटक समृद्ध बनाउने हामीले हो ।’ अहिले मधेशलाई जोगाउनका लागि चुरे संरक्षण गर्नु अहिलेको चुनौती रहेको भन्दै नेता पौडेलले चुरेको संरक्षण गरेर मधेशको भूमी र मधेशी जनताको सुरक्षा गर्न कांग्रेससँग मात्रै योजना रहेको जिकिर गरे । अहिले कम्युनिष्ट सरकार आफ्नो हातमा लिएर जनतालाई दुःख दिएको उनको भनाइ थियो । नेता पौडेलले प्रश्न गरे, केपी ओलीसँगको मधेशको के हो ? मधेशी दलका नेताहरुले एकाएक किन सर्मथन गरे ? यी मधेशका नेताहरुको नियत के हो ? मधेशका जनतालाई के चाहिएको हो ? उनीहरुलाई चिन्ता छैन ।
उनीहरुलाई केवल कुर्सीका लागि केपी ओलीसँग टाँसिनु मात्रै भएको पौडेलको आरोप थियो । उनले कांग्रेसकै सिद्धान्त अनुसार अहिलेको संविधान आएको जिकिर गरे । नेता पौडेलले थपे ‘कम्युनिष्टको सिद्धान्तमा कहि संघीयता भन्ने शब्द हुँदैन । विश्वका कम्युष्टिहरु यसको उदाहरण हुन् । कम्युनिष्टको सिद्धान्त भनेको जनतावादी केन्द्रीयता हो ।
अहिले कम्युनिष्ट प्रधानमन्त्री त्यही अनुसार आफुमा अधिकार केन्द्रीत गर्न लागेका छन् । अहिले हरेक संवैधानिक निकायलाई कमजोर पार्ने गरि कम्युनिष्टहरुले काम गरिरहेका छन् । यो कम्युनिष्टहरुको केन्द्रीकृत शासन पद्दतीमा जाने लक्षण हो । संघीयताको विरोधमा जाने कसैलाई पनि कांग्रेसले माफ गर्दैन् ।’ कम्युनिष्टहरुले संघीयता र लोकतन्त्रलाई सत्ताको भ¥याङमात्र बनाउने उनको भनाइ छ ।
‘राणासँग लडेको कांग्रेस पंचायतसंग लडेको कम्युनिष्टसँग पनि लड्ने हो । लोकतन्त्र र संघीयता गणतन्त्रका विरुद्धमा कसैलाई जाने दिदैनौ । अधिनायकवाद कम्युनिष्ट नेताहरुको अनुहारमा देखिन्छ । तर हामी खबरदारी गर्दै जनतासमक्ष आएका हौं । संघीयता विरोधी सरकारको हर्कतको विरोध गर्न हामी जनतासमक्ष आएका हौ ।’ सरकारले अधिनायकवादमार्फत मुलुकलाई अन्धकारमा खोजेको भन्दै त्यसलाई रोकेरै छाड्ने पौडेलले दाबी गरे । उनले नेपाली कांग्रेसको उत्पती नै मधेशबाट भएको भन्दै कांग्रेस र मधेशको सम्बन्ध एकअर्कामा परिपुरक रहेको बताए । आज सरकारले बुढि गण्डकी, वाइडबडि एनसेल काण्ड सुन काण्ड मच्चाएर गरिब जनतालाई मारिरहेको उनको भनाइ थियो ।
नेता पौडेलले पार्टी भित्रको प्रसंग उठाउदै नेतृत्व सुधारिए कांग्रेस पार्टी सुधारिन समय नलाग्ने बताए । उनले कांग्रेसलाई सवल र बलियो बनाउने हो भने नेतृत्व सचिन र सुधारिन जरुरी रहेको दाबी समेत गरे ।