धनुषा चैत, १४–
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले हिमाल, पहाड र तराईबीच पारस्परिक रूपमा एकताका आधारलाई बलियो बनाउन जरुरी रहेको बताएका छन् । बिहिबार प्रेस युनियन धनुषाले जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता पौडेलले तराई–मधेसलाई पनि समृद्धिको हिस्सेदार बनाउनुपर्ने खाँचो रहेको बताएका हुन् । समृद्धिका लागि नेपालका सम्पदालाई साझा रूपमा प्रयोग गर्ने पद्धति बसालेमा नेपाली जनजीवन छिमेकी राष्ट्र चीन र भारतभन्दा पनि धनी र सुन्दर हुन सक्ने उनको भनाइ थियो । मधेसवादी दलहरू संविधान संशोधन गर्न नचाहने सरकारलाई समर्थन गरी मधेसी जनतालाई भ्रममा पार्ने कार्य गरेको चर्चा गर्दै उनले कांग्रेसले संविधानमा भएको त्रुटिलाई सच्याउन चाहन्छ भने । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालत र अख्तियारलाई पनि आफ्नो इशाराबाट निर्दिष्ट गरेको उनको आरोप थियो । वाइडबडी प्रकरणमा अदालत र अख्तियारको मौनताले अराजकता मौलाउँदै गएको वरिष्ठ नेता पौडेलको भनाइ छ । उनले अख्तियार ठूला काण्डलाई संरक्षण दिई स–साना काण्डमा मात्रै अलमलिएको आरोप लगाए ।
१४ चैत्र २०७५, बिहिबार
0
Shares