१४ चैत्, काठ्माण्डौ-
प्रधानमन्त्री केपी शर्मा ओलि बेला बेला आफ्नै बोलिका कारण बिबादमा आइरहनछन ।अरु प्रतिको उनको कडा र रुखो बोली उनको पदिय मार्यादा अनुसारको नभएको भनेर राजनितिक, सामाजिक, बौद्दिक र अन्य बिभिन्न क्षेत्रबाट आलोचना भइरहन्छ ।
केहि दिन अघाडी एक कार्यक्रममा नेपाली कांग्रेसका प्रती प्रधानमन्त्री ओलिले गरेको टिप्पणिलाई लिएर नेपाली कांग्रेसले एक बिज्ञप्ती नै जारी गरेको छ ।कांग्रेसका तर्फबाट प्रबक्ता बिश्वप्रकाश शर्माले एक बिज्ञप्ती जारी गर्दै प्रधानमन्त्रीको टिप्पणिलाई हल्का र पदिय मर्यदा अनुसार नभएको उल्लेख गरेका छन भने आमाका अघाडी मावलिको बयान नगर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन ।
उनले बिज्ञप्तिमा कांग्रेसको कर्म र विश्वासप्रति औचित्यहिन टिप्पणीहरु गरेर दिन बिताउनु भन्दा जनताले सुम्पिएको दायित्व बमोजिम जिम्मेवार ढंगले कार्य गर्न प्रधानमन्त्रीजलाई सचेत समेत गराएका छन ।
बिज्ञप्तिको पुर्ण पाठ्-
चैत्र १४, २०७५
प्रधानमन्त्रीको टिप्पणी : आमाका अगाडि मावलाको बयान !
सम्माननीय प्रधानमन्त्री के.पी. ओलीले आज एक कार्यक्रमका क्रममा नेपाली कांग्रेसका प्रति गर्नु भएको टिप्पणीलाई हामीले प्रधानमन्त्रीको पदीय गरिमाको उचाई अनुरुप नभएको दुःखद र हलुका अभिव्यक्तिका रुपमा लिएका छौं ।
१. एकदलीय अधिनायकवादको कम्युनिष्ट दर्शन बोकेर र घोकेर जीवनको पूर्वाध विताएका जो कोहीलाई जीवनको उत्तरार्धमा लोकतान्त्रिक पद्धतिको बाटो हिड्नु पर्ने परिस्थिति निश्चयनै कठिन रहेको मनस्थिति हामी बुझ्न सक्छौं । तर कांग्रेसले स्थापनाकालदेखि अंगिकार र विश्वास गरेको मार्गमा समाहित भएर अन्ततः कांग्रेसलाई नै लोकतन्त्रको व्याख्या सुनाउने कर्म ‘आमाका अघि मावलाको बयान’ भन्दा भिन्न छैन ।
२. विप्लव समूहलाई लगाइएको प्रतिबन्ध बारे हाम्रो धारणा प्रष्ट छ, नागरिक जीवनलाई सुरक्षा प्रदान गर्नु राज्यको दायित्व हो तर निषेधले समाधानमा पुग्न सकिन्न । वार्ताबाट अन्तिम समाधानमा पुग्ने शासकीय योग्यता प्रधानमन्त्रीसँग हामी खोजिरहेका छौं र हत्या, हिंसा एवं चन्दा आतङ्क त्यागेर शान्तिपूर्ण प्रक्रियामा आउन विप्लव समूहलाई अपिल गरिरहेका छौं । विद्रोहीको हिंसा, राज्यको प्रतिबन्ध र प्रधानमन्त्रीका तिक्त अभिव्यक्तिहरुको आतङ्कले मुलुकलाई समाधान दिंदैन ।
३. बिखण्डनको मुद्दा परित्याग गरेर नेपालको अखण्डता स्वीकार्ने जो कसैलाई हाम्रो स्वागत छ र रहनेछ तर सरकार–सिके सम्झौताको दोस्रो वुँदामा उल्लेखित ‘जनअभिमतमा आधारित लोकतान्त्रिक विधि’ को साझा व्याख्या सम्झौताको तीन साता पुग्दा पनि आउन नसक्नु दुःखद र आपत्तिजनक छ । तिक्त भाषणहरुमा समय खेर फाल्नु भन्दा परिपक्व छलफलमा समय लगाउनु पर्ने प्रधानमन्त्रीको कर्तव्य स्मरण गराउन चाहन्छौँ ।
४. नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा निर्माण भएको संविधानप्रति स्वामित्व बोध सदैव गरेको छ र आवश्यक संशोधन मार्फत यसप्रति अपनत्वको दायरा विस्तार गर्न सकिने विषयप्रति विश्वस्त छ । कांग्रेसको कर्म र विश्वासप्रति औचित्यहिन टिप्पणीहरु गरेर दिन बिताउनु भन्दा जनताले सुम्पिएको दायित्व बमोजिम जिम्मेवार ढंगले कार्य गर्न प्रधानमन्त्रीजीलाई सचेत गराउन चाहन्छु ।
जय नेपाल !
विश्वप्रकाश शर्मा
प्रवक्ता
प्रकाशित मिति :
१४ चैत्र २०७५, बिहिबार २ :
२३ बजे