जिल्ला नपाएको गाँउ, आफूहरू कुन जिल्लाको गाँउलेनै छुट्याउन सक्तैनन्



काठमाडौं चैत, १६–
उदयपुर र सिरहाका केही गाउँका बासिन्दा आफूहरूलाई कुन जिल्लाको हो भनी छुट्याउन सक्दैनन्। कारण हो, सीमा विवाद। प्रदेश १ मा पर्छ उदयपुर। सिरहा भने प्रदेश २ को जिल्ला हो। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

सिरहाको लहान नगरपालिका–१६ र उदयपुरको उदयपुरगढी गाउँपालिका–६ स्थित आरिदमार, आहाले, बर्दमार, टाडे, देउराली, धाव्रे, सोलुढुंगा, ढुंग्रे, नागबेली, रुम्जाटार, भसुवा, भुमरे, मतिटारलगायत चुरेका गाउँ सीमा विवादको भुमरीमा फसेका छन्।

दुवै जिल्लाले ऐतिहासिक कारण देखाउँदै यी गाउँ आफ्नो दाबी गर्दै आएका छन्। दुवै पक्ष आआफ्नो अडानमा रहेकाले समस्या जटिल बनेको छ। प्रविधिको प्रयोग गरी कुन जिल्लाको भूगोल हो भन्ने यकिन गर्ने भनिए पनि हालसम्म सीमा छुट्याउन प्रविधि प्रयोग हुन सकेको छैन। लहान नगरपालिकाले नक्सालाई आधार मान्दै भूगोलसम्बन्धी यन्त्रबाट पहिचान गरेर यी गाउँ आफ्नो भएको दाबी गरेको छ। तर समस्या समाधान गर्न कसैले तत्परता देखाएका छैनन्।

राजनीतिक समस्या भएकाले राजनीतिक तवरबाटै समाधान खोजिनुपर्ने स्थानीयको भनाइ छ। उदयपुर पक्षले २०३२ सालअघि पञ्चावती चुरे क्षेत्रअन्तर्गत रहेको दाबी गरेको छ भने सिरहाले पुरानो तरिगाना गोविन्दपुर गाविसमा रहेको दाबी गरेको छ। २०२८ सालमा नापी भएको स्थानका अधिकांश जग्गाधनीले उदयपुरबाट पुर्जा बनाएका छन्। नागरिकता भने अनुकूल हेरी दुवै जिल्लाबाट बनेको स्थानीयको भनाइ छ।

आरिदमारस्थित आधारभूत तहको विद्यालय र बर्दमारमा रहेको स्वास्थ्य केन्द्र सिरहामै दर्ता भएकाले उतैबाट कर्मचारीले तलब लिने गरेको बताइएको छ। लहान नगरपालिकाका मेयर मुन्नी साह सुडीले सिरहामा पर्ने दाबी गरेका छन्। ‘सीमामा विवाद देखिएपछि म्यापिङका आधारमा १ वर्षअघि सिरहाकै भएको पहिचान गरी विवादित ठाउँमै नगर कार्यपालिकाको बैठक बसेर आफ्नो क्षेत्रमा ल्याउने निर्णय गरेका छौं’, उनले भने।

तत्कालीन अवस्थामा ती क्षेत्रमा जान समस्या भएको, जंगलभित्र गाउँ रहेकाले केही उदयपुरले नापनक्सा गरेको उनको आरोप छ। ‘नगरसभाबाटै पास गराएर त्यस क्षेत्रको लगत संकलन गरी नापी र मालपोत कार्यालय उदयपुरलाई ढड्डा सिरहा पठाइदिन आग्रह गरेका छौं’, मेयर साहले भने, ‘आशा छ उहाँहरूले ढड्डा पठाइदिनुहुनेछ।’ सीमा प्रस्ट नभएकाले २०३२ सालपछि चुरेक्षेत्रमा पानी बग्ने खोल्सी बनेपछि त्यसैलाई सीमाक्षेत्र मानिएको स्थानीयको भनाइ छ। कतिपय स्थानीयले सिरहा र उदयपुरको सीमा चुरेको डाँडो भएको बताएका छन्।

लहानका मेयर साहको भनाइप्रति असहमति जनाउँदै उदयपुरगढी गाउँपालिकाकी उपाध्यक्ष सानुकुमारी राउतले चुरेक्षेत्रका बस्ती उदयपुरको भएको दाबी गरेकी छन्। ‘हामीले उदयपुरको उदयपुरगढी गाउँपालिकाको क्षेत्रभित्र कायम गर्न प्रदेश र संघीय सरकारलाई आग्रह गरिरहेका छौं’, उनले भनिन्, ‘यी गाउँ प्रदेश १ को उदयपुरकै उदयपुरगढी गाउँपालिकामा पर्छ।’ जनताको चाहना पनि उदयपुर नै भएकाले सोहीअनुसार प्रदेश र केन्द्रीय सरकारसँग कुरा अघि बढाइएको उनले जानकारी दिइन्।

सीमा विवादले ती गाउँमा अझै सरकारी सेवा पुगेको छैन। एक हजार पाँच सयभन्दा बढी घुरधुरी रहेको क्षेत्रमा प्रभावकारी स्वास्थ्य चौकी, प्रहरी चौकी, टेलिफोन सेवा छैन। प्रदेश र जिल्ला टुंगो नलाग्दा विकासका पूर्वाधारमा पछि परेको स्थानीयको गुनासो छ।

सिरहा र उदयपुर जिल्ला फरकफरक प्रदेशका हुन्। तर विवादित गाउँका बासिन्दामध्ये धेरैका दुई मतदाता परिचयपत्र छन्। निर्वाचन आयोगले समेत यसको उचित व्यवस्थापन गर्न सकेको छैन। फोटोसहितको मतदात परिचय पत्रले कुनै व्यक्ति दोहोरिँदैन, छुट्दैन भन्ने नारा निर्वाचन आयोगको रहे पनि यहाँ नियम लागू भएको छैन।

प्रकाशित मिति : चैत्र १६, २०७५ शनिबार  २ : ०४ बजे