काठमाडौं चैत, १६–
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले लगानी सम्मेलनमा आयोजकले दिएको उपहार लिन अस्वीकार गरेका छन् ।
शुक्रबारदेखि सुरु भएको सम्मेलनको उद्योगसम्बन्धी सत्रको सभाध्यक्षसमेत गरिरहेका मन्त्री यादवले सत्रको समापनपछि दिइएको उपहार अस्वीकार गरेका हुन् । राजधानी दैनिकले समाचार छापेको छ ।
आयोजकका तर्फबाट सत्रमा सभाध्यक्ष, सहजकर्ता तथा सबै वक्ताहरूलाई उपहार ९मायाको चिनो० हस्तान्तरण गर्ने कार्यक्रम थियो । तर, मन्त्री यादवले उपहार नलिने भन्दै आसनबाट उठ्न चाहेनन् ।
उपहार लिन अस्वीकार गरेपछि आयोजकका तर्फबाट उपहार लिएर गैरआवासीय नेपाली संघ ९एनआरएनए०का अध्यक्ष भवन भट्ट मन्त्रीको आसननजिकै पुगेर आग्रह गरे पनि उनले लिन मानेन् ।
सो सत्रमा उद्योग मन्त्रालयकी सचिव यामकुमारी खतिवडा, सूर्य नेपाल प्रालिका कार्यकारी निर्देशक अभिमन्यु पोद्दार, गोल्छा अर्गनाइजेसनका कार्यकारी निर्देशक शेखर गोल्छा, हुवासिन सिमेन्टका उपाध्यक्ष सु गाङ वक्ताका रूपमा सहभागी थिए ।
यस्तै, पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक प्रदीपकुमार श्रेष्ठले सहजकर्ताको भूमिकामा थिए । मन्त्री यादवबाहेक अन्य सबै सहभागीले आयोजकको उपहार ग्रहण गरेका थिए ।
लगानी सम्मेलनको उद्घाटन सत्रमा उद्योगमन्त्री यादवले अग्रस्थानमा बस्ने सिट नपाएपछि झोक्किँदै हलबाट बाहिरिएका थिए । त्यसपछि उनले पत्रकारसहित अन्यका लागि व्यवस्था गरिएको डिजिटल डिस्प्ले भएको हलमा आई त्यही बसेर उद्घाटन सत्र हेरेका थिए ।
लगानी सम्मेलनको तयारीका क्रममा ‘छाया’मा परेका उद्योगमन्त्री यादव भव्य उद्घाटन समारोहमा पनि मन्त्रीहरूको लाइनमा थिएनन् । प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा. युवराज खतिवडा मञ्चमा थिए भने अरू मन्त्री अग्रस्थानमा थिए । तर, उद्योगमन्त्रीले त्यहाँ सिट नपाएपछि झोक्किएर कार्यक्रमको हलबाटै बाहिरिएका थिए ।