मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एसईईको प्रश्नपत्र बाहिरिएकोबारे प्रहरीले थाल्यो अनुसन्धान, सामाजिक सञ्जाल प्रयोगकर्ताको प्रोफाइल ‘सर्च’ गर्दै



काठमाडौं चैत, १७–
प्रदेश २ मा एसईईको प्रश्नपत्र बाहिरिएको घटनामा प्रहरी अनुसन्धान सामाजिक सञ्जालमा केन्द्रित भएको छ। प्रदेश प्रहरी र सीआईबीको संयुक्त टोलीले सामाजिक सञ्जाल प्रयोगकर्ताको प्रोफाइल ‘सर्च’ गरिरहेको छ।

शुक्रबार र शनिबार फेसबुक, ट्विटर प्रयोगकर्ता ५ सयलाई ‘फलो’ गरिएको एसपी सन्तोष खड्काले बताए। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट एसपी खड्का र सीआईबीबाट डीएसपी नीरञ्जन भट्ट सम्मिलित टोली अनुसन्धानमा खटिएको छ। विज्ञान र सामाजिक शिक्षा विषयको प्रश्नपत्र सञ्जालमार्फत बाहिरिएको आशंका प्रहरीले गरेको छ। विज्ञानको प्रश्नपत्र बिहीबार सप्तरीबाट बाहिरिएको प्रहरीको ठम्याइ छ।

‘सामाजिक सञ्जालमार्फत प्रश्नपत्र आउट भएको कुरा आएको छ’, एसपी खड्काले भने, ‘प्रश्नपत्र पोस्ट र सेयर गरेकाहरूको प्रोफाइल सर्च गरिरहेका छौं। एउटाले अर्कोलाई, अर्कोले अर्कोलाई सेयर गरेर प्रश्नपत्र सामाजिक सञ्जालमा भाइरल भयो। त्यसैले यो घटनाको अनुसन्धान चरणबद्ध हुन्छ।’

सप्तरीलाई केन्द्र बनाएर प्रहरीले प्रोफाइल सर्च गरेको हो। ‘प्रश्नपत्र पोस्ट गर्ने अन्तिम प्रयोगकर्ता को हो र उसले त्यो कसरी प्राप्त गर्‍यो भन्ने तथ्य खोजिरहेका छौं’, उनले भने, ‘चाँडै निचोड निकाल्छौं।’

लगातार प्रश्नपत्र आउट भएपछि शिक्षा मन्त्रालयले प्रदेश २ मा शनिबारदेखिका परीक्षा स्थगन गरेको छ। यसले गर्दा प्रदेशका ७० हजार ५ सय ६८ परीक्षार्थी प्रभावित भएका छन्।

प्रश्नपत्र बाहिरिएको समाचार सुरुमा लेख्ने जनकपुरका पत्रकार शैलेन्द्र महतो ९क्रान्ति०लाई शनिबार प्रहरीले सोधपुछ गरेको छ।

पत्रकार महतोले बिहीबार राति सामाजिकको प्रश्नपत्र फेला पारेर समाचार लेखेका थिए। शुक्रबार बिहानदेखि प्रशासनिक निकायबाट आएको फोनले तनावमा परेको उनले सुनाए। त्यसमाथि शनिबार जिल्ला प्रहरी कार्यालयमा बोलाएर प्रहरीले झन्डै पाँच घण्टा केरकार गरेको हो। ‘अनुसन्धानका लागि सहयोग माग्नु ठिकै हो। तर, प्रहरीले पाँच घण्टासम्म केरकार गर्‍यो’, उनले भने, ‘प्रहरीले एउटै कुरा पटक(पटक सोधेर मानसिक तनाव दियो।’

प्रहरीको फोन आएको बारेमा उनले पत्रकार महासंघ प्रदेश २ का महासचिव किरण कर्ण र धनुषा शाखा अध्यक्ष अनिल मि श्रलगायतलाई जानकारी दिएका थिए। पत्रकार महतोसँगै महासचिव कर्ण, अध्यक्ष मि श्र, धनुषा शाखा कोषाध्यक्ष अवधेश कामत, सदस्य गोविन्द महतोलगायत पत्रकार पाँच घण्टा बस्नुपरेको थियो।

परीक्षार्थी भने एसईई अनिश्चितकालका लागि स्थगन भएकामा आन्दोलित भएका छन्। आक्रोशित विद्यार्थीले प्रदेशका आठै जिल्लामा विरोध प्रदर्शनदेखि तोडफोडसम्म गरेका हुन्। उनीहरूले पूर्व(पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कल्याणपुर खरचुइयामा दुई घण्टा चक्काजाम गरे। राजविराजस्थित शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयमा ढुंगा प्रहार गर्दा झ्यालका सिसा, ल्यापटप फुटेको शाखा अधिकृत छवि खड्काले बताए।

प्रश्नपत्र प्रहरीमा आएपछि वा त्यसअगावै बाहिरिएको हुन सक्ने उनीहरूको भनाइ छ। उनीहरूले पक्राउ परेका केन्द्राध्यक्ष, सहकेन्द्राध्यक्ष र निरीक्षकलगायतलाई रिहा गर्नुपर्ने मागसमेत गरेका छन्। मोबाइलबाट चिट चार्ने सुविधा उपलब्ध गराएको आरोपमा प्रहरीले बनरझुला माविका केन्द्राध्यक्ष, सहकेन्द्राध्यक्ष र ६ निरीक्षकलाई नियन्त्रणमा लिएको थियो। विद्यार्थी नेता दिलीप मण्डलले विद्यार्थीको जीवनसँग खेलबाड गर्नेलाई नछाड्ने चेतावनी दिए। परीक्षा स्थगन हुनु यो प्रदेशका लागि दुर्भाग्य भएको अभिभावक दीपक चौधरीको भनाइ छ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  २ : ०५ बजे