अमेरिकामा केही मानिसले हत्यारा र अपराधी बनाएर जेल हाल्ने योजना बनाएका रहेछन्ः प्रचण्ड



काठमाडौं चैत, १७–
पत्नी सीताको अमेरिकी अस्पतालमा उपचार गरेर बिहीबार नेपाल फर्किएका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकामा आफूले तीतो अनुभव गरेको बताएका छन् । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले अमेरिकी सरकारले ‘नो इन्भेस्टिगेसन’ जारी नगरेको भए आफूलाई जे पनि हुन सक्ने बताएका हुन् ।

दाहालविरूद्ध अमेरिकामा तिलक श्रेष्ठले उजुरी हालेका थिए।

उनले भने, ‘अमेरिकी सरकारले नो इन्भेस्टिगेसन जारी नगरेको त मलाई त्यहाँ जे पनि हुने रहेछ। केही मानिसले मलाई प्रचण्ड हत्यारा हो अपराधी हो भनेर त्यतै जेल हाल्ने योजना रहेछ,’ दाहालले भने, ‘के मैले शान्ति सम्झौता गरेर अपराध गरें।
अध्यक्ष दाहालले प्रश्न गरे, ‘संविधान निर्माणको नेतृत्व गरेर र देशलाई एकतावद्ध गरेर मैले के अपराध गरे ?’

उनले अमेरिकास्थित नेपाली कांग्रेसको प्रवासी संगठनले निर्णय नै गरेर आफूविरूद्ध उजुरी हालेको दाबी गरेका छन् । अध्यक्ष प्रचण्डले त्यतातिर ध्यान दिन प्रमुख प्रतीपक्षी कांग्रेसको ध्यानाकर्षण पनि गराए।

‘यस्ता मानिसहरू कसलाई प्रहार गर्दा अहिलेको परिवर्तन उल्ट्याउन सकिन्छ भन्नेमा लागेका हुन्छन्,’ दाहालले भने, ‘ शान्ति सम्झौताको हस्ताक्षरकर्तालाई प्रहार गर्दा त्यो सजिलो हुन्छ भन्ने उनीहरूको बुझाइ हुन्छ। त्यो एउटा प्रवृत्ति हो। हामीले त्यस्तालाई रोक्नुपर्छ।’

प्रकाशित मिति : चैत्र १७, २०७५ आइतबार  ८ : ०१ बजे