ब्रुमरले बढारे पनि धुलो उडेर सास फेर्नै गाह्रो



काठमाडौं चैत, २७–
‘ब्रुमरले बढारेको सडक रे, सास फेर्नै गाह्रो हुने गरी धुलो उडिरहेको छ । उफ !,’ सोमबार दिउँसो सुन्धारामा हिँडिरहेकी रुक्मिणा केसी भनिरहेकी थिइन् । मास्क र चस्मा लगाएर हिँडिरहेकी उनी काठमाडौं मल अगाडि उडेको धुलो हेर्दै निराशा र आक्रोश पोखिरहेकी थिइन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

१२ चैतबाट काठमाडौं महानगरपालिकाले पाँच ब्रमुरमार्फत सडक सफा गरिरहेको छ । केही ठाउँमा धुलो कम पनि भएको छ भने केही ठाउँको अवस्था पहिलेको जस्तै छ । विशेषगरी, निर्माण कार्य भइरहेका स्थान आसपासका सडकमा धुलो घटेको छैन ।

धरहरा निर्माण स्थलबाट निस्किएका ट्रकले धुलो मुख्य सडकमा ल्याइरहेका छन् । महानगरका ब्रुमरले सुन्धारा आसपासका सडक एकपटक बढारिसकेका छन् ।

तर, धरहरा, वीर अस्पताल निर्माणस्थल, टुँडिखेलमा थुपारिएको माटो र काठमाडौं टावर निर्माण स्थल लगायतका निर्माण स्थलबाट निस्कने सवारीले हिलो सडकमा ल्याएका कारणले धुलो कम हुन नसकेको महानगरका प्रवक्ता ईश्वरमान डंगोलले बताए । गिट्टी, बालुवा र माटो बोक्ने ट्रकरट्रिप्परले समेत धुलो चुहाउँदै हिँडेकाले समस्या भइरहेको उनको भनाइ छ ।

महानगरको चेतावनी

निर्माण स्थलबाट सवारी सफा गरेर मात्रै मुख्य सडकमा निकाल्न महानगरले सम्बन्धित निकायलाई चेतावनी दिएको छ । प्रवक्ता डंगोलका अनुसार महानगरले पुनर्निर्माण प्राधिकरण, ठेकेदार कम्पनीलगायतलाई हिलो मुख्य सडकमा आउनबाट रोक्न आग्रह गरेको छ ।
महानगरको आग्रहलाई बेवास्ता गरे निर्माणमा प्रयोग हुने गाडी मुख्य सडकमा आउन रोक लगाउने चेतावनी मेयर विद्यासुन्दर शाक्यले सम्बन्धित निकायलाई दिएको डंगोलले जानकारी दिए ।

सवारी नाकामै सफा गर्नुपर्ने

महानगरले गत आइतबार पारित गरेको सवारी तथा यातायात व्यवस्थापन विधेयकमा महानगर प्रवेश गर्दा नाकामै गाडी सफा गर्नुपर्ने उल्लेख छ । पारित भएको १६औँ दिनमा ऐन कार्यान्वयनमा आउनेछ ।

नालीमा हिलो र धुलो

ब्रुमरले सडक सफा गरे पनि सडकका नाली भने धुलो र हिलोले भरिएका छन् । महानगरले नाली सफा गर्न सडक विभाग र ढल व्यवस्थापनका लागि ढल महाशाखालाई आग्रह गरिसकेको छ । ‘आठ मिटरभन्दा चौडा सडक विभागले हेर्ने हो । त्यसैले नाली सफा गर्न र ढल व्यवस्थापन गर्न सम्बन्धित निकायलाई अनुरोध गरिसकेका छौँ,’ प्रवक्ता डंगोलले भने, ‘उहाँहरूले सफा गर्नुभएन भने हामी आफैँ सफा गर्छौं । किनकि, महानगरभित्रका सबै जसअपजस हामीलाई आउने गर्छ ।’

प्रकाशित मिति : चैत्र २७, २०७५ बुधबार  २ : २८ बजे