काठमाडौं चैत, २८–
एक हप्ता अघि राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको उडानमा विमास्थल बन्द हुने तोकिएको समयभन्दा ४ मिनेट मात्रै ढिला हुँदा उडान रोकियो । रातको समयमा उडान रोकिँदा यात्रुहरुले रातभर दुःख पाए ।
तर, विदेशी कम्पनीका विमानलाई भने विमानस्थलले बन्द हुने समयभन्दा १७ मिनेटपछि सम्म पनि उडान अनुमति दिएको खुलेको छ ।
स्रोतका अनुसार फ्लाई दुबईको बोइङ ७३७ विमानले विमानस्थल बन्द हुने समय भन्दा १७ मिनेटपछि पनि उडान अनुमति पायो र उडेको छ । राति ८ बजेर ४० मिनेटमा उड्नुपर्ने विमान समय परिवर्तन गरेर बस्यो र विमानस्थल बन्द भएको १७ मिनेटपछि अथवा १० बजेर १७ मिनेटमा उडेको छ ।
विमान उडान र अवतणमा विमानस्थल प्रशासनको चरम लापरबाही र मनमौजी जस्तो देखिएको छ । हाल विमानस्थलको धावनमार्ग पुनः निर्माणका लागि राति १० बजेबाट विहान ८ बजेसम्मका लागि विमास्थल बन्द हुन्छ ।
तर, कतिपय विदेशी कम्पनीका विमानहरुले भने निर्धारित समयभन्दा अगाडि वा पछाडि पनि अनुमति पाउँछन् । सोही कुरा भने नेपाली राष्ट्रिय ज्वजाबाहकलाई पनि लागू हुँदैन ।
नेपाली विमानलाई उडान अनुमति नदिएको विषयमा समिति बनाएर हाल अनुसन्धान पनि भइरहेको छ । फ्लाई दुबईलाई अनुमति दिएको विषयमा भने विमानस्थल कार्यलयका प्रमुखको निर्देशनमा अनुमति दिएको एक कर्मचारीले बताएका छन् ।