खोटाङको हलेसीमा बस पल्टियोः एकजनाको मृत्यु, १४ घाइते



खोटाङ वैशाख, ३–
खोटाङको हलेसीमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । काठमाडौंबाट खोटाङको दिक्तेल आउँदै गरेको ना४ख ७४११ नम्बरको अन्य १४ यात्रु घाइते भएका छन् ।

चालक र सहचालकसहित १५ यात्रु सवार बस गएराति ११ बजे हलेसी तुवाचुङ नगरपालिका–७ रिट्ठाबोटेमा दुर्घटना भएको हो । प्रहरीका अनुसार दुर्घटनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७, दोर्पाचिउरीडाँडाका ३२ वर्षीय प्रजबहादुर राईको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते बनेका राईको एम्बुलेन्समार्फत उपचार गराउन जिल्ला अस्पताल दिक्तेल ल्याउने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

घाइतेमध्ये चालकसहित सातलाई थप उपचारका लागि काठमाडौँको त्रिवि शिक्षण अस्पताल पठाइएको छ भने अन्य छ जनालाई जिल्ला अस्पताल दिक्तेल ल्याइएको छ ।

दुर्घटनाका घाइतेको नाम अहिलेसम्म खुल्न सकेको छैन । बस सडकबाट चिप्लिएर १५–२० मिटर तल झरेपछि कोल्टिएर अड्किएकाले ठूलो क्षतिबाट जोगिएको इलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ ।

प्रकाशित मिति : बैशाख ३, २०७६ मंगलबार  ५ : ३२ बजे