काठमाडौं वैशाख, ५–
सर्वेन्द्र खनाल नेपाल प्रहरीको प्रमुख बनेसँगै लामो समयदेखि हुन नसेको बढुवा र सरुवाका काम मात्रै भएनन्, धेरै राम्रा कामहरु पनि गर्न सफल भएका छन् । यूनाइटेड पोस्ट साप्ताहिकले समाचार छापेको छ ।
२०७४ साल चैत २७ गते मंगलबार दोस्रोपटक बालुवाटारमा बेलुकी साँझ बसेको मन्त्रिपरिषद बैठकले डिआईजी खनाललाई नेपाल प्रहरीको २६औं आईजीपीमा नियुक्त गरेको थियो । खनालले आफू आईजीपी भएको तीन महिना पनि वित्न नपाउँदै विगत लामो समयदेखि एउटै स्थानमा अड्डा जमाएर बसेकाहरुको सरुवा गरेका थिए । उनले २०७५ जेठ ११ गते एकैपटक ४०० जना प्रहरी निरीक्षकहरुको सरुवा गरेका थिए ।
आईजीपी खनालले सिपाईदेखि डिईजीसम्मको बढुवाको जाम खोल्ने काम मात्रै गरेनन् २० वर्षदेखि हुन नसकेको सईहरुको समेत बढुवा गराए । त्यसैले पनि संगठनमा उनको राम्रो छाप बसिसको छ । संगठनबाटै सुधारको प्रयास गरेका आईजीपी खनालले जनतालाई प्रत्यक्ष अनुभुती दिलाउने कार्य पनि गरेका छन् ।
लामो समयदेखि बढुवा र सरुवा हुन नसक्दा संगठनले राम्रो काम गर्न नसकेको अवस्था र प्रहरी हाकीमहरु नै विभिन्न काण्डमा फसिरहेका बेला नेतृत्व सम्हाल्न पुगेका खनालका लागि त्यो समय धेरै नै चुनौतीपूर्ण थियो । तर, सबै खाले चुनौतीको सामना गर्दै अगाडि बढेका खनालले आफ्नो एक वर्षे कार्यकाललाई भने सफल बनाए । चुनौतीलाई अवसर रुपमा प्रयोग गर्दै अगाडि बढिरहेका खनालले गरेका केही राम्रा कामहरु यस्ता छन् ।
आईजिपी खनाल ‘समुदाय– प्रहरी साझेदारी’ कार्यक्रमको शुरुवात गरेर जनताको मन जित्न सफल भए । यो कार्यक्रमले धेरै हदसम्म समाजमा प्रहरीप्रतिको क्षती सुधारिएको छ । स्कुल–स्कुलमा गएर प्रहरीले पढाउँदा एकातर्फ प्रहरीसँगको सम्बन्ध राम्रो भएको छ भने अर्कोतर्फ अपराध न्यूनीकरणमा पनि सघाएको छ ।
विगतमा पनि यस्ता धेरै कार्यक्रम सुरु भएपनि कार्यान्वायन गर्ने संयन्त्र बनेका थिएनन् । त्यही कारण ती कार्यक्रम अपेक्षित सफल भएनन् । तर, अहिले स्थानीय प्रतिनिधिकै नेतृत्वमा सुरक्षा समितिहरु बनेपछि यो प्रभावकारी हुने देखिएको छ । साथै स्थानीय तहबाट प्रहरीले स्रोत साधन समेत पाउन थालेको छ । सरकारबाट बजेट नै नआईकन उनले यो अभियानको सुरुवात गरेका थिए । जसअनुसार देश भरीका वडा–वडासम्म प्रहरीलाई सहयोग गर्न समितिहरु गठन भएका छन् । यसले अवश्य पनि प्रहरीलाई बलियो बनाउँदै लगेको छ ।
खनालले नेपाल प्रहरकिो नेतृत्व सम्हाले लगत्तै प्रहरीका वृत्तिविकासका कामलाई प्राथमिकता दिए । सबैभन्दा पहिले उनको आँखा २० वर्षदेखि हुन नसकेको सईबाट इन्सपेक्टर बढुवामा पुग्यो । त्यतिमात्र होइन उनी विगत १५ वर्षदेखि एउटै स्थानमा अड्डा जमाएर बसेकाहरुको सरुवा गराएर प्रहरीहरुको मनोबल बढाउन सफल भए ।
यसले संगठन चलाएमान भयो, संगठनमा केही उत्साह थपियो । एआईजी बढुवाका लागि चार महिना लाग्यो । तर, एआईजी बढुवापछि तल्लो तहका बढुवा भने धमाधम अघि बढेको थियो । आईजीपी खनाल नेतृत्वले गरेको सरुवामा पनि राजनीतिक हस्तक्षेपका कारण कही खराब छवि भएका प्रहरीले महत्वपूर्ण जिल्लाको इन्चार्ज पाएको भन्दै विवाद बढेपनि आईजीपी खनालले विवादमा पर्ने इन्चार्जहरुलाई उनले केही महिनामै सरुवा गरिदिए । त्यसमा डिआईजी समेत परे । जसले इन्चार्जहरुलाई सर्तक मात्र बनाएन, प्रहरीभित्र हुने सरुवा र बढुवामा हुने सेटिङमा धेरै कमी आएको छ ।
२०७५ सालको सबैभन्दा चर्चित घटना हो, कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या । घटनाका अभियुक्त पत्ता नलाग्दा देशव्यापी रुपमा सरकारविरुद्ध आन्दोलन चर्कियो । सरकारलाई नै बदनाम गराएको यो घटनाले प्रहरीको पति त्यतिकै आलोचना भयो ।
प्रहरीले अनुसन्धानमा लापरबाही देखएको कुरा बहिर अएपछि यो घटनामा प्रहरी नराम्रोसँग फस्यो । तर, आईजीपी खनाल प्रहरीमाथि नै कारबाही गरेर सत्य तथ्य पत्ता लगाउने प्रयासमा छन् । यो काण्डमा प्रहरीले नक्कली अभियुक्त खडा गरेको गम्भीर आरोप झेल्नुपरेन, आईजीपी खनाललाई हटाउने सम्मको चलखेल समेत भयो । अझैसम्म पनि प्रहरीले यो घटनाको अनुसन्धानमा फलता पाउन सकेको छैन ।
आईजीपी खनालले संगठनलाई नमूना बनाउने प्रण गरेका छन् । अहिलेको प्रावधान अनुसार उनको अझै झण्डै ११ महिना कार्यकाल बाँकी छ । प्रहरी संगठनले मात्र होइन जनताले पनि आईजीपी खनालसँग ठूलो अपेक्षा राखेका छन् । संगठनलाई नमूना बनाउने प्रयास र जनताको मन मस्तिष्कमा बस्न सक्ने काम गरेको खण्डमा आईजीपी खनालको कार्यकाल सफल हुने देखिन्छ । तर, उनीमाथि धेरै चुनौतीहरु भने देखिन्छन् । चुनौतीको सामना गर्दै अगाडि बढ्न सकेको खण्डमा आईजीपी खनाल सफल प्रहरी महानिरीक्षक बन्नेछन् ।
सर्वेन्द्र खनाल २०४६ माघमा प्रहरी निरीक्षकमा भर्ना भएका खनाल आफ्नो ब्याचमेटहरुमा एसएसपीबाट डिआईजीमा बढुवा हुँदा एक नम्बरमा बढुवा भएका थिए । २०७२ मा महानगरीय अपराध महाशाखको प्रमुख भएका खनालले गुण्डा नाईके कुमार ‘घैंटे’को इन्काउन्टर गरेका थिए । नेपाली फुटबलको ओरालो यात्रामा ब्रेक लगाउन खनालको ठूलो योगदान रहेको छ ।
अपराध महाशाखा प्रमुख हुँदा ‘म्याच फिक्सिङ प्रकरण’मा अनुसन्धान गरेका खनालले २०७२ असोज २७ गते तत्कालिन राष्ट्रिय टिमका कप्तान सागर थापासहित ५ खेलाडीलाई नियन्त्रणमा लिएर मुद्दा चलाएका थिए । प्रहरीले लिएको भिडियो बयानमा उनीहरुले म्याच फिक्सिङ स्विकार गरेका थिए । त्यसपछि संगठनभित्र मात्रै नभएर समाजमा पनि खनाल सेलिब्रेटी अफिसरको रुपमा चिनिएका थिए ।
देशको प्रतिनिधित्व गर्दै विदेशमा राष्ट्रिय झण्डा बोकेर खेल्नेहरुले राष्ट्रघात गरेको भन्दै खनालले राष्ट्रिय टिमका कप्तान सागर थापा, विकास क्षेत्री सन्दिप राई, रितेश थापा र अन्जन क्षेत्रीलाई कारवाहीको दायरामा ल्याएका थिए । स्टार खेलाडीलाई कारवाहीको दायरामा ल्याएसँगै करिब २३ बर्षपछि नेपालले अन्तर्राष्ट्रिय खेल जितेको थियो ।
नयाँ संविधान निर्माणपछि भारतीय नाकाबन्दीको फाइदा उठाउँदै कालोबजारी गर्ने कार्यमा सहयोग गर्ने सह–सचिव तथा नापतौल विभागका प्रमुख रामआधार शाहलाई उनले हत्कडी लगाएका थिए । त्यहिबाट रिमोट कन्ट्रोल जडान गरेर उपत्यकामा ठगी गर्दै आएका पेट्रोलपम्प सञ्चालकहरुलाई खनालले कानुनी दायरीमा ल्याएका थिए ।
अपराध महाशाखाको नेतृत्व सम्हालेको एक सातामै खनालले जमिम शाह हत्याकाण्डमा संलग्न पूर्व–डिएसपी जगदिश चन्दलाई नियन्त्रणमा लिएका थिए । २०६६ सालमा लाजिम्पाजमा शाहको गोली प्रहारबाट हत्या भएको थियो । तराईमा बस्दा विभिन्न भूमिगत समूहहरुको गतिविधि नियन्त्रण गरेका खनालले दर्जनबढी नक्कली इन्जिनियरलाई पक्राउ गरेर कारवाही गरेका थिए । जनकपुर, पर्सालगायतका स्थानमा बस्दा त्यहाँका भूमिगत समुहविरुद्व उनले विशेष अपरेशन सञ्चालन गरेको थिए ।
उपत्यकाको अपराध श्रृङ्खलामा ललितपुरको बडिखेलमा भएको ‘बडीखेल हत्याकाण्ड’ निकै चर्चित मानिन्छ । एउटै परिवारका ५ जनाको विभत्स ढंगले भएको हत्या काण्डकाको खनालले नै पर्दाफास गरेका थिए । २०६० सालमा एउटै परिवारको पाँच जनाको ज्यान लिने चन्द्रबहादुर पहरीलाई खनालले करिब १२ बर्षपछि पक्राउ गरेका थिए । काठमाडौंमा बस्दा खनालले अवैध कन्सल्टेन्सीमा छापा हानेर उनीहरुलाई कारवाहीको दायरामा समेत ल्याएका थिए ।