मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तराष्ट्रिय अन्तरीक्ष केन्द्रमा जोडियो नेपाली स्याटलाइट



काठमाडौं वैशाख, ९–
नेपालको आफ्नै भूउपग्रह ‘नेपाली स्याटलाइट वान’ अन्तराष्ट्रिय अन्तरीक्ष केन्द्रमा जोडिने कार्य सफलतापूर्वक सम्पन्न भएको छ । अन्तरीक्षका लागि प्रक्षेपण गरिएको भूउपग्रह पृथ्वीको तल्लो कक्षमा अवस्थित अन्तराष्ट्रिय अन्तरीक्ष केन्द्रमा जोडिएको हो ।
सोमबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले ललितपुरको खुमलटारस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी उक्त कुराको जानकारी गराएको हो । उक्त स्याटलाइट वान पृथ्वीको सतहबाट ४ सय किलोमिटर उचाईमा रहेको पृथ्वीलाई परिक्रमा गर्न तल्लो कक्षमा अवस्थित अन्तराष्ट्रिय अन्तरीक्ष केन्द्रमा जोडिने कार्य सफलतापूर्वक सम्पन्न भएको बताईएको हो ।

जापानमा विद्यावारिधि गरिरहेका नेपाली बैज्ञानिकद्धय आभास मास्के र इन्जिनियर हरिराम श्रेष्ठले निर्माण गरेको सो नेपाली स्याटेलाइट वान गत बैशाख ५ गते नेपाली समय अनुसार बिहान २ बजेर ३१ मिनेट जाँदा प्रक्षेपण गरिएको थियो । अमेरिकाको भर्जिनियास्थित नासाको रकेट प्रक्षेपण केन्द्रबाट अन्तराष्ट्रिय अन्तरीक्ष केन्द्रका लागि पठाइएको उक्त स्याटलाईट ३६ घण्टा ४० मिनेटपछि बैशाख ६ गते नेपाली समय अनुसार दिउँसो ३ बजेर १३ मिनेट जाँदा अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रमा जोडिन सफल भएको हो ।
नाष्टका प्रवक्ता डा. सुरेशकुमार ढंगेलले अवको करिव डेढ महिना पछि सो नेपाली स्याटलाईटले अन्तरीक्षमा रही पृथ्वीको परिक्रमा गर्नुका साथै प्रतिष्ठानमा निर्माण गर्न लागिएको ग्राउन्ड स्टेशनमा समेत सम्पर्क स्थापित गर्ने जानकारी गराए ।

नाष्टले सो नेपाली स्याटलाईट अन्तरिक्षमा प्रक्षेपणका लागि करिव २ करोड लाग्ने अनुमान पनि गरेको छ । नाष्टका प्रवक्ता ढुंगेलले उक्त रकम अर्थ मन्त्रालयबाट प्राप्त भईसकेको पनि जानकारी दिए ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  ९ : ४४ बजे