काठमाडौं वैशाख, १२–
नेपाल बंगलादेश बैंक (एनबी)ले खरिद गरेको जग्गामा ठूलो घोटला भएको कुरा बाहिर आएपछि बैंकभित्र विवाद चर्किएको छ ।
बैंक सञ्चालक समितिका अध्यक्ष जलाल अहमद र बैंकका प्रमुख कार्यकारी अधिकृत(सिइओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाको मिलेमतोमा जग्गा खरिद प्रकरणलाई गुपचुप राखिएको छ । यूनाइटेड पोस्ट साप्ताहिकले समाचार छापेको छ।
बैंकले चैतको अन्तिम साता केन्द्रीय कार्यालय प्रयोजनको लागि भन्दै विवादास्पद व्यापारी अजयराज सुमार्गीको मुक्तीश्री प्रालिको नाममा रहेको विशालनगरस्थित झण्डै ८ रोपनी जग्गा खरिद गरेको थियो ।
बजारमूल्य अनुसार प्रति आना ६० लाख पर्ने उक्त जग्गालाई प्रति आना ७८ लाख ४० हजार रुपैयाँ खरिद गरेर झण्डै २२ करोड रुपैयाँ घोटला गरिएको भन्दै बैंक भित्र विरोध शुरु भएको हो ।
सर्वसाधरणको लगानी रहेको बैंकले गुपचुप रुपमा जग्गा खरिद गरी करोडौं घोटला गरेको बाहिर आउँदा समेत नियमन निकाय राष्ट्र बैंकले अहिलेसम्म पनि कुनै कारबाही प्रकृया अगाडि बढाएको छैन ।
जग्गा खरिद प्रकरणमा सञ्चालक समितिका अध्यक्ष बंगाली नागरिक अहमद, सदस्यद्धय इन्द्रबहादुर थापा र मुकुन्दनाथ ढुंगेल तथा सिइओ ढुंगानाको मिलेमतो रहेको बैंक स्रोतले बताएको छ ।
सबैभन्दा अचम्म त के छ भने जग्गा खरिद गरिएपछि गत शनिबार स्वतन्त्र सञ्चालक भन्दै अरुण श्रेष्ठलाई सदस्यमा नियुक्ति गरिएको छ । जवकी कम्पनी रजिष्ट्रार कार्यालयले बोर्डको पूर्ण बैठकबाट मात्रै महत्वपूर्ण निर्णय गर्नु भन्दै २०७४ साल माघ २२ गते निर्देशन दिएको थियो ।
सञ्चालक समितिका एक सदस्यका अनुसार बैंकले खरिद गरेको झण्डै ९५ करोड रुपौयाँको जग्गा खरिदको विषयमा बंगलादेशको आईएफआईसी बैंकले समेत प्रश्न उठाएको छ ।
एनबी बैंकमा आईएफआईसी बैंकको ४१ प्रतिशत सेयर रहेको छ । सोही बैंकको तर्फबाट प्रतिनिधित्व गर्दै अहमद एनबीको अध्यक्ष बनेका थिए । बैंकमा जग्गा खरिदको विषयमा प्रश्न उठ्न थालेपछि अध्यक्ष अहमद अहिले मौन छन् ।
राष्ट्र बैंक र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुनै पनि बेला छानविन गर्ने अवस्था देखिएपछि अहमदले जग्गा खरिदमा भएको घोटलाको विषयमा सिइओ ढुंगानासँग छलफल समेत गरेको बैंक स्रोत बताउँछ ।
सिइओ ढुंगानाले भने नेपालको कानुनले विदेशी लगानी भएको कम्पनीलाई केही गर्न नसक्ने भन्दै अहमदलाई कन्भिन्स गराएको बैंकका एक कर्मचारीले बताए ।
एनबी बैंकमा बंगलादेशको आईएफआईसी बैंकबाट प्रतिनिधित्व गरेका कर्मचारी अहमदले घोटला गरेको कुरा बंगलादेशस्थित आईएफआईसीमा पनि उठेपछि उनी समस्यामा परेका छन् ।
त्यसो त जग्गा खरिदमा भएको घोटलालाई गुपचुप बनाउन सिइओ ढुंगानाले एनबी बैंक अब ग्लोवल आईएमई बैंकसँग मर्ज हुन लागेको हल्ला चलाउन थालेका छन् । तर, त्यो हल्ला फिजाएर उनले घोटला गरेको रकम पचाई लगानीकर्ताहरुलाई गुमराहमा राख्न खोजेको बैंककै कर्मचारीहरु बताउँछन् ।
सिइओ ढुंगानाविरुद्ध यसअघि पटक–पटक राष्ट्र बैंकमा उजुरी परेका थिए । प्रचलित कानुन विपरित बैंकमा तेस्रो कार्यकाल नियुक्ति भई तलव भत्ता तथा सुविधा लिएको र सर्बोच्च अदालतको आदेशलाई समेत पालना नगरेको ढुंगानामाथि आरोप लागेको छ ।
२०७४ बैशाख १२ मा सर्बोच्चले कुनै पनि बैंक तथा वित्तीय संस्थाको कार्यकारी दुई कार्यकाल भन्दा बढि नियुक्ति हुन नपाउने फैसला गरेको थियो । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्थासम्बन्धी कानुन ९बाफिया० अनुसार कुनै पनि बैंक तथा वित्तीय संस्थामा अध्यक्ष, प्रबन्ध सञ्चालक तथा सीईओको पदावधि दुई कार्यकाल भन्दा बढी बस्न नपाउने व्यवस्था छ ।
जुन कुरा संसदबाट पनि पारित भइसकेको छ । तर, एनबी बैंकका सिइओ ढुंगाना यस्ता पात्र हुन्, उनलाई न त वाफियाले छोएको छ न त सर्वोच्चको आदेशले नै ।
जग्गा खरिद गर्ने कार्यले बैंकभित्र वित्तिय सुसासन कायम नभएको र जग्गा खरिद प्रकरणमा ठूलो आर्थिक घोटला भएकोले सम्बन्धित सिलबन्दी बोलपत्रको मुचुल्का, उपसिमितिको बैठक तथा सञ्चालक समितिको सक्कली कागजपत्रहरुको जाँचबुझ गरी दोषीलाई तत्काल कारबाहीको माग गर्दै राष्ट्र बैंकमा उजुरी पर्दा समेत जग्गा खरिदको विषयमा किन राष्ट्र बैंक मौन रहनुलाई आश्चर्यको रुपमा लिइएको छ ।