काठमाडौं वैशाख, १२–
कांग्रेस के्न्द्रीय सदस्य दीपक गिरीले कम्युनिस्टहरूले जनताले दिएको दुई तिहाइको म्याण्डेटलाई दुरुपयोग गरेको आरोप लगाएका छन् । बुधबार कांग्रेस नवलपुर जिल्लाका कार्यसमितिका पदाधिकारी, सदस्य र अगुवा कार्यकर्ताहरूसँग परामर्शको क्रममा पूर्वमन्त्री समेत रहेका गिरीले उक्त कुरा बताएका हुन् । उनले भने, ‘कम्युनिस्टहरूलाई जनताले पत्याए । दुई तिहाइ जनमत पनि दिए । देशमा राजनीतिक स्थायित्व र विकास हुन्छ भन्ने मतदाताहरूको सोँच थियो, कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीले जनताको आकंक्षा पूरा गर्नेभन्दा पनि सबै शक्तिहरू आफूमा केन्द्रिकृत गरेर अधिनायकवादको शुरुवात गर्ने प्रयासमा लागे ।’
नेता गिरीले प्रधानमन्त्री ओलीले कुनै पनि काम ठीकसँग गर्न नसकेको दाबी समेत गरे । उनले भने, ‘हरेक ठाउँमा भ्रष्टाचार छ । अनियमितता छ, शान्ति सुरक्षा छैन । निर्मला पन्तका हत्यारा पक्राउ पर्न सकेका छैनन् । सरकारी जग्गा आफ्नो नाममा बनाउनेहरूलाई बालुवाटारमा संरक्षण छ । बिना रोकतोक प्रधानमन्त्रीको सरकारी निवासमा अनुमित दिइन्छ । प्राधानमन्त्रीज्यू पहिला तपाईले सरकारी जग्गा हडप्नेलाई बालुवाटार छिर्न रोक लगाउनुस् ।’
वर्तमान कम्युनिस्ट सरकारबाट जनताहरू आजित भएको भन्दै जनताले विकल्पको खोजी गर्न शुरु गरिसकेको प्रष्ट पारे ।
नेपाली कांग्रेसको जनजागरण अभियानअन्तर्गत मंगलबार पुगेका गिरीले नवलपुरका नेता कार्यकर्तासँग अनौपचारिक परामर्श थालेका हुन् ।
कांग्रेसका पूर्वकोषाध्यक्ष रामकृष्ण ताम्राकारको मंगलबार निधन भएपछि कांग्रेसले बुधबारदेखि गर्ने भनिएको राष्ट्रिय जागरण अभियान दुई हप्ताका लागि स्थगित गरिएको छ ।