मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कैलालीमा प्रहरी र प्रदर्शनकारीबीच झडप, प्रहरीद्वारा दर्जनौं सेल अश्रु ग्यास प्रहार



धनगढी वैशाख, १७–
मंगलबार बिहान कैलालीमा ट्रकको ठक्करबाट एकजना छात्राको मृत्यु भएको छ । छात्राको मृत्युलगत्तै शुरू भएको प्रदर्शनले उग्ररुप लिँदा कैलालीको लम्की तनावग्रस्त बनेको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ९२३३ को ट्रकको ठक्करबाट स्थानीय लम्की बहुमुखी क्याम्पसमा अध्ययनरत छात्रा सुनिता रावलको मृत्यु भएको थियो । उनको मृत्यु लगत्तै विवाद शुरु भएको थियो ।
आफन्त र विद्यार्थीले प्रदर्शन गर्दा लम्की बजार तनावग्रस्त बनेको छ ।
प्रदर्शन नियन्त्रण बाहिर गएपछि प्रहरीले लाठीचार्ज गर्नुका साथै दर्जनौं सेल अश्रु ग्यास हानेको छ ।

प्रदर्शनका क्रममा केही प्रहरी र स्थानीय घाइते भएका छन् । प्रदर्शन नियन्त्रणमा लिन बाक्लो मात्रामा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ ।

स्थिति नियन्त्रण बाहिर जान नदिन व्यापक मात्रामा प्रहरी परिचालन गरिएको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले बताएका छन् ।

प्रहरीले ट्रक चालक सुनील भण्डारीलाई नियन्त्रणमा लिएर कारबाही गर्ने बताए पनि स्थानीय भने प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले ट्रक तोडफोड गर्नुका साथै सडकसमेत बन्द गराएका छन् ।

चालकको लापरवाहीले ज्यान गएकाले दोषीमाथि कारबाही गर्नुका साथै मृतकको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग प्रदर्शनकारीहरूको छ । झडपमा प्रहरीसहित केही प्रदर्शनकारी घाइते भएका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  ७ : ३५ बजे