निर्मलाको हत्या भएको ९ महिना पुग्यो, न पीडितलाई न्याय, न शान्ति



काठमाडौं चैत, १८–
कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ९ महिना बित्यो । अनुसन्धान टोलीले ६० जनाभन्दा बढीको डीएनए परीक्षण गरिसक्यो । यसबीचमा प्रहरीले धेरै पटक भनि पनि सक्यो— अपराधीको नजिकै पुग्यौं । तर पीडितले न्याय नपाएको देख्दा लाग्छ, अनुसन्धान ज्यूँका त्यूँ छ । शून्यमा ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), महानगरीय प्रहरी अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको विशेष टोली अनुसन्धानमै छन् । निर्मलाको भेजाइनल स्वाबसँग डीएनए परीक्षण गरिएका व्यक्तिसँग मेल खाएको छैन । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

साउन १० गते बेपत्ता निर्मलाको शव ११ गते उल्टाखामनजिकै उखुबारीमा शव भेटिएको थियो । गृह मन्त्रालयले छानबिन समिति गठन ग¥यो । समितिले मुख्य अभियुक्तको पहिचानबिनै प्रतिवेदन बुझायो । प्रहरी प्रधान कार्यालयले एआईजी धीरु बस्न्यातको नेतृत्वमा अर्को छानबिन समिति पनि गठन ग¥यो । यो समितिले मुख्य अभियुक्त पक्राउभन्दा पनि छानबिनमा खटिएका प्रहरीमाथि नै अनुसन्धान केन्द्रित ग¥यो । बस्न्यात नेतृत्वको टोलीकै सिफारिसमा एसपी विष्टसहित प्रहरी अधिकृतमाथि आन्तरिक कारबाही सिफारिस भयो ।

अहिले पनि सीआईबी र महाशाखाको टोली कञ्चनपुरमै छ । एक महिनाअघि सीआईबीका एसपी सुदीप गिरीको कमान्डमा एउटा टोली कञ्चनपुरमा खटिएको थियो । टोलीले सुरुदेखि नै अनुसन्धान अघि बढायो । तर मुख्य अभियुक्त नजिक पुग्न सकेन । मुख्य अभियुक्तबारे केही संकेत पहिल्याए पनि अनुसन्धानमा तानिनुपर्ने ती व्यक्ति अहिले कञ्चनपुरमा नभएको एक अधिकृत बताउँछन् ।

छानबिनमा तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख डिल्लीराज विष्ट, उनका छोरा, रोशनी बम र अनिता बम, नगरपालिकाका मेयरका भतिजा, दिलीपसिंह विष्ट, विशाल चौधरी, प्रदीप रावललगायत ६० जनाभन्दा बढीको डीएनए जाँच भयो । तर कसैसँग मेल खाएन । प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालाले निर्मलाको डीएनए परीक्षणलाई ठीक हो भनेर अहिलेसम्म भन्न सकेको छैन । ठीक होइन भने यसको थप परीक्षणका लागि विदेश पठाउनेबारे कुनै प्रक्रिया अगाडि बढाइएको पनि छैन ।

सीआईबी सम्मिलित टोलीले बम दिदीबहिनीमाथि पटकपटक केरकार ग¥यो । अम्बाको रूख काटिएकोबारे धेरै चर्चा भएपछि अनुसन्धान गर्दा निर्मलाको हत्या र अम्बाको रूखसँग कुनै साइनो नभएको अनुसन्धान टोलीले पत्ता लगायो । बम दिदीबहिनीको घर र निर्मलाको शव फेला परेको स्थानको दूरी ३० मिटर मात्र छ । निर्मलाको साइकलको चेन सधैंजसो बिग्रने सूचनासमेत प्रहरीले पाएको थियो । ‘घटनास्थलबाट बरामद साइकलमा पनि चेन बिग्रिएकै थियो, ‘अनुसन्धानमा संलग्न एक उच्च प्रहरी अधिकृत भन्छन्, ‘घटना भएको दिन पनि साइकलको चेन फुत्किएपछि अज्ञात व्यक्तिले निर्मलालाई बलात्कारको सिकार बनाएको आशंका छ ।’

बम दिदिबहिनी होटल ओपेराका डान्सर हुन् भनेर सूचना पाएपछि सीआईबीसहितको छानबिन टोली उक्त होटल पुगे । तर ओपेरामा बम दिदीबहिनी एक दिन पनि नछिरेको रहस्य खुल्यो ।

निर्मला हत्या प्रकरणमा यातना र प्रमाण नष्ट अभियोगमा बर्खास्तीमा परेका प्रहरी अधिकृत एसपी विष्ट, प्रहरी निरीक्षक जगदीश भट्ट, निलम्बनमा परेका प्रहरी अधिकृत डीएसपी अंगुर जीसी, प्रहरी निरीक्षक ज्ञानबहादुर सेठ्ठी, एकेन्द्र खड्का, सई हरिसरसिंह धामी, सहायक निरीक्षक रामसिंह धामी र हवल्दार चाँदनी साउदविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दायर भए । अदालतले सबै प्रहरी अधिकृतलाई फरकफरक रकममा धरौटी लिएर छाड्ने आदेश गरिसकेको छ ।

प्रकाशित मिति : चैत्र १८, २०७५ सोमबार  २ : ०२ बजे