काठमाडौं चैत, १९–
भारतमा इन्डियन प्रिमियर लिग (आईपिएल) सुरु भएसँगै नेपालमा सट्टेबाजीको धन्दा चलाउने गिरोह पुनः सक्रिय भएको छ । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।
इन्डियन प्रिमियर लिग (आईपीएल) मा अहिले अनलाईनमार्फत सट्टेबाजीको धन्दा चलाउने गिरोह राजधानीमा छ्याप छ्याप्ती देखिन थालेका छन् ।
नागराज नामले कुख्यात नथमल अग्रवालले नेपालमा यो धन्दाको सुरुवात गरेको स्रोत बताउँछ । केही महिना अगाडि नागराज पक्राउ परेका थिए । जिल्ला अदालत काठमाडौंले ५० लाख र सम्पत्ती सुद्धिकरणले मागेको ५० लाख धरौटी बुझाएर रिहा भएका नागराज अहिले गुमनाम छन् । स्रोतका अनुसार नागराजको धरौंटी रकम चर्चीत व्यापारी दिपक मल्होत्राले तिरेका थिए ।
सट्टेबाजीको धन्दा चलाउँदै आएका नागराजको धरौंटी रकम जम्मा गरेपछि नागराज र मल्होत्राको सम्बन्धलाई लिएर यतिखेर प्रश्न उठेको छ । कुनै बेला सुन तस्करीमा पनि मुछिएका मल्होत्राले नागराज जस्ता व्यक्तिलाई अगाडी सारेर सट्टेबाजीको धन्दा चलाएको अहिले खुलासा भएको हो ।
पाँच महिना अगाडि महानगरीय प्रहरी अपराध महाशाखाको फन्दामा परेका नागराजको धरौंटी बराबरको १ करोड रुपैंया मल्होत्राले तिरेपछि यो कुराको पुष्टि हुन आएको हो ।
मल्होत्राको सेटिङमै अहिले पनि सट्टेबाजीको धन्दा हुँदै आएको स्रोत बताउँछ । नागराजको बिचाराधिन मुद्दामा समेत मल्होत्राले सेटिङ मिलाएर मुद्दा जिताउन लागि परेका छन् । कर छलीको आफ्नै मुद्दा सर्बोच्चमा भएको कारण भैतारिदै हिडेका मल्होत्रा अहिले नागराजलाई पनि जोगाउन लागिपरेका छन् ।
नागराजका सहयोगीका रुपमा रहेका गौरव तिवारीको समूहलाई लिएर अहिले पनि धन्दा चलाउँदै आएका छन् ।
सट्टेबाजी खेलाउँदै आएका तिवारीलाई प्रहरीले पक्राउ गर्दा उनको बैंक खातामा अवैध सात करोड ४७ लाख रकम देखिएको थियो । सट्टेबाजीका डन नागराज भन्ने अमृत अग्रवालसँग मिली तिवारीले सट्टेबाजी गरेको र पछि विवाद बढेपछि लण्डनबाट मास्टर एकाउन्ट खोली कारोबार गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको थियो ।
अहिले पुन यो समूह एक भएर सट्टेबाजीको धन्दा चलाउँदै आएका छन् । तिवारीको समूहलाई तत्कालिन समयमा काठमाडौं परिसरले पक्राउ गरेको थियो । सो समयमा काठमाडौं परिसरमा एसएसपी विश्वराज पोखरेल थिए ।
पक्राउ पर्नासाथ मिडियामा ठूलो हल्ला गर्ने एसएसपी पोखरेलले अन्तिममा जुवा अन्तर्गत मुद्दा चलाए र उनलाई उन्मुक्ति दिलाईका थिए । उक्त काण्डमा ठूलै सेटिङ भएको थियो । खातामा करोडौं रुपैंया देखिए पनि पैसाको छानबिन नगरपछि ठूलै सेटिङ भएको पुष्टि भएको हो ।
पक्राउ परेका तिवारीलाई काठमाडौं प्रहरीले एक साता मै दुई सय रुपैयाँमा छुट्ने गरी मिशिल खडा गरेको थियो । तिवारीलाई संगठित अपराध, संस्थागत ठगी र सम्पत्ति सुद्दिकरणमा मुद्दा चल्ने भन्दै पोखरेलले मिडियासामु बताए पनि जुवा मुद्दा भन्दा अन्य कुनै मुद्दा लगाउन प्रहरीले सकेन । अहिले यहि गिरोहले आईपीएलमा सट्टेबाजीको धन्दा चलाईरहेको छ ।
प्रहरीका उच्च अधिकारीहरूको पैसा मिटरव्याजमा चलाउने तिवारीलाई पूर्व आईजीपी उपेन्द्रकान्त अर्यालको पनि संरक्षण रहेको स्रोत बताउँछ ।
तिवारीसहित पक्राउ परेका पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा म्याच फिक्सिङमा मुछिएका अन्जन केसीसँग दुई करोड ७७ लाख दुई हजार, भुपेन्द्र कुँवरसँग तीन करोड २२ लाख ९७ हजार र नरेन्द्र सुवालसँग ७७ लाख बैंक खातामा रकम देखिएको प्रहरी अनुसन्धानमा खुलेको थियो । तिवारीसहित पाँच जना सट्टेबाजी खेलाएको आरोपमा पक्राउ परेका थिए ।