काठमाडौं चैत, १९–
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज बारा र पर्साका पीडितहरूको अवस्था बुझ्न त्यसतर्फ जान लागेका छन् । आइतबार साँझ आएको हावाहुरीले पर्सा र बारमा ठुलो धनजनको क्षेति भएपछि सभापति देउवा त्यसतर्फ जान लागेको कांग्रेस केन्द्रीय सदस्य फरमुल्लाह मन्सुरले जनाए । पूर्वप्रधानमन्त्री समेत रहेका देउवा यतिबेला पार्टी कार्यक्रमको सिलसिलामा कपिलवस्तुमा रहेका छन् । उनी कपिलवस्तुबाट सिधै विरगञ्ज जान लागेको देउवानिकट स्रोतले जनाएको छ ।
सभापति देउवाले बारा र पर्सा जिल्लाका हावाहुरीबाट प्रभावितलाई भेट्ने कार्यक्रम रहेको छ । उनले घाइतेको उपचार र पीडितहरू राहतमा भइरहेका प्रयासहरूका बारेमा पनि जानकारी लिने बताईएको छ । यसअघि सोमबार नेपाली कांग्रेसले हावा हुरी प्रभावितहरुलाई संघीय संसदका सांसदहरुको तर्फबाट दुईदिनको तलब दिने निर्णय गरेको थियो । त्यस्तै कांग्रेसले सोमबार नै उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा आफ्ना स्थानीय नेता तथा कार्यकर्ताहरूलाई उद्धार र राहतको कार्यक्रममा लाग्न निर्देशन दिएको थियो ।