चैत २१,काठ्माण्डौ-
आगामी तीन दिनसम्म देशभरि नै बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गए रातिदेखि कमजोर रुपमा पूर्वमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको प्रभावले बदलीसँगै हल्कादेखि मध्यम वर्षा गराउने महाशाखाका मौसमविद् मञ्जु बासीले बताए।
उक्त प्रणली क्रमशः विकसित भई आगामी शनिबारसम्म कायम रहने बताइएको छ। काठमाडौँ उपत्यकामा आज दिउँसो केहीबेर मौसम खुल्ला भई घाम लाग्नेछ र अन्य स्थानमा भने तत्काल मौसम सफा हुने अवस्था नरहेको मौसमविद् बासीले जानकारी दिए।
महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव ८ डिग्री र अधिकमत तापक्रम २६ दशमलव ६ डिग्री सेल्सियस छ। त्यस्तै धनगढीको अधिकमत तापक्रम सबैभन्दा बढी ३५ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ।