२२ चैत, काठमाडौं ।
घोडेजात्रा पर्वका अवसरमा नेपाली सेनाले टुँडिखेलमा घोडाका विभिन्न खेल कौशलहरु देखाएर घोडे जात्रा पर्बको उल्लासमय समापन गरेको छ ।
राष्ट्रपति,प्रधानमन्त्री लगायत राज्यका अन्य बिशिष्ट ब्यक्तित्वको उपस्थितिमा भएको समारोहमा राइड पास, ब्यानर डिस्प्ले, टांगन घोडा दौड, चार्जर घोडा दौड, नेपाली सेना र गैर सैनिकको साइकल दौड, शो जम्प, क्याभली राइड, टेण्ट पेगिङ, क्रस टेन्ट पेगिङ लगायतका घोडचढी कौशलहरु प्रदर्शन गरिएको थियो । समारोहमा उत्कृष्ट प्रदर्शन गर्ने सैनिकलाई पुरस्कृत पनि गरिएको थियो ।
प्राचिन जन श्रुती अनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय मेटाउन प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । त्यही चलन पछी काठमाडौंको टुँडिखेलमा घोडा कुदाएर मनाइने घोडे जात्रा पर्बका रुपमा मनाउन थालिएको बिश्वाश गरिन्छ ।