वृक्षरोपण गर्दा २ लाख खर्च, कर्मचारीले मागे साढे ९ लाख भुक्तानी



काठमाडौं चैत, २३–
सामुदायिक वनमा वृक्षरोपण गर्दा वनका कर्मचारीले अनियमितता गरेको पाइएको छ । मोरङ खण्डमा पर्ने चारकोसे जंगलको लक्ष्मी सामुदायिक वनको झन्डै १६ हेक्टर क्षेत्रफलमा वृक्षरोपण गर्दा साढे सात लाख रुपैयाँ अनियमितता भएको हो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

करिब दुई लाख रुपैयाँ वृक्षरोपणका नाममा खर्च गरेर ९ लाख ५० हजार रुपैयाँ भुक्तानी गरेको भेटिएको छ । १५ दशमलव ६८ हेक्टर क्षेत्रफलमा वृक्षरोपणका लागि तत्कालीन इलाका वन कार्यालय भाउन्नेमार्फत सरकारको साढे सात लाख र आपूर्ति समितिको दुई लाख रुपैयाँ चालु वर्ष निकासा भएको थियो ।

‘इलाका वनले उक्त क्षेत्रफलमा वृक्षरोपण गराउन उपभोक्ता समितिलाई जमिन जोत्न, खन्न, रूखका ठुटा उखेल्न र तारजालीले घेराउ गर्न लगायो,’ उपभोक्ता समिति अध्यक्ष लोकबहादुर बस्नेतले भने, ‘हामीले करिब १० लाख रुपैयाँ खर्च गरेर तारको घेराबारा गरी जमिन तयार गरेपछि वनले मसला, खयर र टिक जातका २९ हजार बिरुवा रोपेको थियो ।’

वनले ती बिरुवा खरिद गरेको नभई लक्ष्मी सामुदायिक वनदेखि दुई किलोमिटर पश्चिमको बेलबारी र करिब १० किलोमिटर टाढाको सलकपुर तथा करिब १५ किलोमिटरपूर्वको मंगलबारेस्थित जिल्ला वनमातहतको नर्सरीबाट निःशुल्क ल्याएर प्रतिगोटा ४ रुपैयाँ ज्याला तिरी रोपाएको थियो ।

२९ हजार बिरुवा रोप्दा १ लाख १६ हजार रुपैयाँ खर्च भएको थियो । रोपेका दिन १७ घण्टा ट्रयाक्टरले जोत्दा वनले करिब २५ हजार रुपैयाँ भाडा तिरेको थियो । बेलबारी, सलकपुर र मंगलबारेबाट कार्यालयकै सवारीसाधनमा बिरुवा ढुवानी गर्दा बढीमा ३० हजार र विविध शीर्षकमा बढीमा ३० हजार रुपैयाँ खर्च भएको थियो ।

प्रकाशित मिति : चैत्र २३, २०७५ शनिबार  २ : ०८ बजे