मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

व्यक्तिको जग्गा आफ्नो नाममा सार्न कानुन व्यवसायी नै सक्रिय



काठमाडौं वैशाख, २६–
पछिल्लो समय भूमाफिया निकै सक्रिय भएका छन् । कानूनीराजको नै उपहास हुने गरी भूमाफिया सक्रिय भइरहँदा बाँके पनि अछुतो रहन सकेन । भूमाफिया र मालपोत कर्मचारीको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा नामसारीका खबर सार्वजनिक भइरहेका बेला बाँकेमा एक कानून व्यवसायीले झुक्याएर एक महिलाको जग्गा आफ्नो नाममा दर्ता गराएको तथ्य खुलेको छ ।
डुडुवा गाउँपालिका–२ बेतहनीकी उषा कुर्मीको एक बिघा १५ कठ्ठा चार धुर जग्गा उच्च अदालत बार एशोसिएसन बाँकेका अध्यक्षसमेत रएका कानून व्यवसायी विकास आचार्यले आफ्नो नाममा गराएको पीडितले बताएका छन् । बेतहनीकै नान भन्ने दुर्गाप्रसाद बर्मा, रामबहादुर बर्मा र आशाराम बर्माको मिलेमतोमा कानून व्यवसायी आचार्यले उषाको करोडौँ मूल्यको जग्गा आफ्नो नाममा गराएको पीडित कुर्मीको भनाइ छ ।
उषाकी आमा लामो समयदेखि पायल्सको बिरामी छिन् । छिमेकी दुर्गा, राम र आशारामले जग्गा बिक्री गरेर उपचार गराइदिने बताएपछि उषाले उनीहरुकै पहलमा आचार्यलाई दुई कठ्ठा साढे चार धुर जग्गा रु दुई लाख ५० हजारमा बिक्री गरेका थिए । उषा लेखपढ गर्न नजान्ने भएपछि जग्गा पास गर्ने क्रममा रु २५ लाखमा एक बिघा १५ कठ्ठा चार धुर जग्गा बिक्री गरेको सहीछाप गराएर करोडौँ मूल्यको जग्गा झ्वाम पारिएको हो ।

सो जग्गा उषाका बुवा जगदीशले यसअघि नै छोरीको नाममा नामसारी गरिदिएको बताए । उषाको नाममा रहेको कित्ता नं १८, २४, २०, ३१, ३२, ९८, १०८, १३२, १४४, १४९ र ५०८ गत २०७४ मङ्सिर १८ गते विकास आचार्यको नाममा पास भएको छ । दुर्गा, राम र आशारामले जग्गा बिक्री गराइदिएपछि उषाकी आमालाई उपचार गराइदिन्छौँ भन्दै उषा र उनका बुबालाई भारतमा लगेर करीब छ महीना उनीहरुले बन्धक बनाएको पीडितले बताए ।

‘चिकित्सक आउँछ भन्दै हामीलाई एउटा घरमा बन्धक बनाइयो, तर चिकित्सक पनि आएनन् । म माथि दुर्गा र रामले पटक–पटक बलात्कारसमेत गरे’, जसोतसो त्यहाँबाट भागेर वैशाख १० गते बेतहनी आएकी उषाले भनिन्, ‘भागेर ज्यान जोगायौँ । घर आउँदा आफ्नो घरजग्गाको आम्दानी सोधखोज गर्दा, यो जग्गा तिम्रो होइन, बिक्री भइसक्यो भनेर छिमेकीले भनेपछि आफू छाँगाबाट खसेजस्तै भएँ ।’ अहिले उषा आफ्ना वृद्ध बुबाआमासँगै न्याय खोज्दै अड्डाअदालत र प्रहरी प्रशासन धाइरहेकी छिन् ।

तर, कानून व्यवसायी आचार्यले प्रक्रिया पु¥याएर आफूले खरीद गरेको बताएका छन् । सो जग्गा पहिले पनि अदालतमा रोक्का भएको र पछि आफूले पैसा बुझाएर फुकुवा गरी खरीद गरेको उनले बताए । ‘पीडितलाई पीरमर्का परेको भए, बसेर मिलाउन सकिन्थ्यो’, उनले भने, ‘तर अहिलेसम्म पीडित मसँग आउनुभएको छैन । यो मेरो पेशागत व्यवसायलाई धमिल्याउने खेल भएको छ ।’ केही दिनअघि आचार्यकै ल फर्मबाट अख्तियारले रु तीन लाख घुससहित उच्च अदालत नेपालगञ्जका टाइपिष्ट नायबसुब्बा कृष्णकुमार पाठकलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहिबार  ५ : ५९ बजे