प्रधानमन्त्रीको भियतनाम भ्रमणः फ्लाइट ५ घण्टासम्म डिले भएपछि भैरहवाका यात्रु आक्रोशित



बुटवल वैशाख, २६–
प्रधानमन्त्री केपी शर्मा ओलीको भियतनाम भ्रमणले भैरहवाबाट काठमाडौं आउने यात्रुले निकै सास्ती बेहोरेका छन् । बिहान ९ः४५ बजेको सौर्य एयरलाइन्सको फ्लाइट ५ घण्टासम्म डिले (ढिलो)भएपछि यात्रु आक्रोशित भएका हुन् ।
विमानमा चढिसकेका यात्रुलाई ओरालेपछि भैरहवाको गौतमबुद्ध विमानस्थलमा तनाव उत्पन्न भएको थियो ।
सौर्य एयलाईन्सका कर्मचारीसंग यात्रुहरुले आक्रोश व्यक्त गर्दै झगडासमेत गरे । सो विमानबाट काठमाडौं जान ५० जनाले टिकट काटेका छन् ।

बिहान पौनै १० बजेको टिकट काटेका यात्रुलाई ढोकैबाट ओरालेपछि यात्रु आक्रोशित बनेका थिए । यात्रुको समयको कुनै महत्व नदिएको भन्दै विमानस्थलमा यात्रुहरुले बिरोध जनाएका हुन् ।
सौर्य एयरलाइन्सका अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको भियतनाम भ्रमणले आन्तरिक उडान प्रभावित भएको भन्दै यात्रुलाई सम्झाई बुझाई गरेका थिए ।

प्रकाशित मिति : बैशाख २६, २०७६ बिहीबार  १० : ५३ बजे