बालमन्दिरमा प्रहरी, अनाथ बालबालिका टहरोमा !



काठमाडौं जेठ, ६–
भूकम्पपछि नक्सालस्थित बालमन्दिरका एक सय २८ अनाथ बालबालिकालाई टहरोमा राखिएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

नेपाल बाल संगठनको स्वामित्वमा रहेको मालीगाउँस्थित पक्की भवनमा भने प्रहरी कार्यालय सार्ने तयारी गरिएको छ । शिक्षाका लागि खाद्यान्न कार्यक्रम सञ्चालित मालीगाउँको पक्की भवनमा कमलपोखरी प्रहरी वृत्त सार्न लागिएको हो । भूकम्पले बालमन्दिरको मुख्य भवन भत्किएपछि मालीगाउँको भवनमा बालबालिकालाई सार्न खोजिएको थियो । तर, त्यहाँ बालबालिकालाई सार्न दिइएन । त्यसैले आश्रित बालबालिकालाई बालमन्दिरपरिसरमा प्रि–फ्याबको टहरोमा राखिएको छ । तर, अहिले त्यही भवनमा प्रहरी कार्यालय सार्ने निर्णय भइसकेको छ ।

कमलपोखरीबाट वृत्त कार्यालय हटाउनुपर्ने अवस्था आएपछि नेपाल प्रहरीले यस्तो निर्णय गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले बताए । ‘कमलपोखरी विस्तार गर्नुपर्ने भएकाले त्यहाँबाट वृत्त कार्यालय सार्नुपर्ने भयो । वृत्तका लागि कार्यालय खोज्दै जाँदा मालीगाउँस्थित शिक्षाका लागि खाद्यान्न परियोजना सञ्चालन हुँदै आएको घर भेटियो । त्यही घरमा वृत्त कार्यालय सार्ने निर्णय भएको छ,’ उनले भने ।

भवन रहेको जग्गाको क्षेत्रफल चार रोपनीभन्दा धेरै छ । २८ वर्षदेखि त्यो भवनमा शिक्षा मन्त्रालयले शिक्षाका लागि खाद्यान्न परियोजना चलाउँदै आएको छ । बालबालिकालाई टहरोमा राखेर संगठनको भवनमा प्रहरी कार्यालय सार्नु गलत भएको बाल संगठनका कोषाध्यक्ष रामकृष्ण कँडेलले बताए । ‘शिक्षा मन्त्रालयले बहुदल आएदेखि नै हाम्रो भवन प्रयोग ग(यो । यसबापत संगठनलाई मन्त्रालयले केही दिएको छैन,’ उनले भने ।

मालीगाउँका स्थानीय पवन केसीले गृह मन्त्रालयको निर्देशनपछि शिक्षाका लागि खाद्यान्न परियोजना सञ्चालन भएको बाल मन्दिरको भवनमा कमलपोखरी वृत्त सार्न लागिएको बताए । यसका लागि गृहसचिव प्रेमकुमार राईले परियोजना भक्तपुरको ठिमीमा सार्न परियोजना प्रमुखलाई निर्देशन दिइसकेको उनको भनाइ छ । उनले भने, ‘परियोजना भएको भवनमा कमलपोखरी वृत्त सार्न गृहसचिवले नै निर्देशन दिएको सूचना आएको छ । त्यसलगत्तै हामीले यस क्षेत्रका सांसद गगन थापा, नेता डा। राजन भट्टराईलगायत नेतालाई ध्यानाकर्षण गराएका छौँ ।’

टहरोमा बालबालिकाको जीवन कष्टकर

बालमन्दिरमा अहिले एक सय २८ बालबालिका छन् । एक महिनादेखि तीन वर्ष उमेर समूहका ४० बालबालिका आश्रित छन् । तीनदेखि १० वर्ष उमेर समूहका बालक र तीनदेखि १६ वर्ष उमेर समूहका बालिका ८८ जना छन् । सबैलाई प्रि–फ्याबबाट निर्मित टहरोमा राखिएको छ । टहरोमा गर्मी र चिसोको सन्तुलन मिलाउन नसक्दा साना उमेरका शिशु बचाउन निकै मुस्किल भएको कोषाध्यक्ष कँडेलको भनाइ छ ।

‘बालमन्दिर रहेको मूल भवन भूकम्पले भत्कायो । बालबालिकालाई त्यहाँ राख्ने कुरो भएन । बालमन्दिरपरिसरमा खाली जग्गा थियो । त्यसैलाई म्यानेज गरिएको छ,’ उनले भने, ‘टहरामा चिसो र गर्मीको सन्तुलन मिलाउन निक्कै गाह्रो हुनेरहेछ । यसले स–साना शिशुलाई निकै असर गर्छ । हाम्रो यो अवस्थालाई बुझिदिनुप(यो ।’

कँडेलका अनुसार भूकम्पले बालमन्दिरको भवन भत्किएपछि शिक्षाका लागि खाद्यान्न परियोजना राखिएको भवन खाली गराउन संगठनका प्रतिनिधि शिक्षा मन्त्रालय पुगे । तत्कालीन शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई भेटेर ज्ञापनपत्र बुझाइयो । मन्त्री श्रेष्ठले भवन खाली गर्ने वचन त दिए, तर कार्यान्वयन कहिल्यै भएन ।

प्रकाशित मिति : ६ जेष्ठ २०७६, सोमबार  १ : ४० बजे