पाँचथरमा दुई परिवारका ९ जनाको हत्या, एक बालिका घाइते



पाँचथर जेठ, ७–
पाँचथरमा २ परिवारको ९ जनाको बिभत्स हत्या भएको छ । एक बालिका घाइते भएकी छिन् ।

पाँचथर प्रहरीका अनुसार मिक्लाजुङ गाउँपालिका ३ को आरुबाटेमा एक परिवारको ५ जना र अर्को परिवारको ४ जनाको हत्या भएको हो ।
सोमबार राति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो ।

धनराजको परिवारका पाँच जनाको हत्यापछि शव घरभित्रै रहेको तथा बमबहादुरको परिवारका चार जनाको शव घरभित्र तथा बाहिर विभत्स अवस्थामा भेटिएको घटनास्थलमा रहेकी लघु उद्यम प्रशिक्षक अर्चना गुरुङले जानकारी गराइन । वडाध्यक्ष हस्तराज फियाकले उक्त घटनाको पुष्टि गरेका छन् ।

३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम पहिचान नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको हो ।

१२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । उनी गम्भीर घाइते छिन् । मध्यरात भएको घटना स्थानीयवासीन्दाले बिहान मात्रै थाहा पाएका थिए । घाइते सीताले स्थानीयवासीलाई दिएको जानकारीअनुसार मुखुण्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको थियो ।

घटनास्थलमा दशमीबजारमा रहेको प्रहरी चौकीको टोली बिहान ६ बजे पुगेको छ भने इलाका प्रहरी कार्यालय रवि र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ लागेको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७६, मंगलबार  ३ : २१ बजे