काठमाडौं जेठ, ७–
प्रहरीले पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा ९ जनाको सामूहिक हत्या प्रकरणमा मृतककै आफन्तको संलग्नता रहेको आशंका गरेको छ । प्रहरीले प्रारम्भिक अनुसन्धान अनुसार सोही गाउँपालिकाको वडा नम्बर ७ स्थित रुटमा झुण्डिएको अवस्थामा मानबहादुर माखिमको शव फेला परेपछि प्रहरीले उनलाई आशंका गरेको हो ।
घटनामा घाइते भएकी बालिकाको बयान र स्थानीयको भनाइको आधारमा हत्यामा माखिमकै संलग्नता रहेको हुन सक्ने पाँचथर प्रहरीले बताएको छ ।
उनकै संलग्नता रहेको निष्कर्षमा प्रहरी पुगिसकेको त छैन यद्यपि, प्राप्त तथ्यहरुलाई विष्लेषण गर्दा उनीतर्फ आशंका गर्न सक्ने आधारहरु फेला परेका छन् । स्थानीय सरोज शर्माका अनुसार आत्महत्या गर्ने माखिम मृतक ७४ वर्षीय बमबहादुर फियाकका कान्छा ज्वाई हुन् ।
अहिले घटनास्थलमा प्रहरी टोलीले पुगेर अनुसन्धान थालिसकेको र माखिमकै संलग्नता हुन सक्ने भन्दै त्यसतर्फ अनुसन्धान सोझ्याएको छ ।
२ परिवारका ९ जनाको विभत्स हत्याको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोली त्यसतर्फ प्रस्थान गरेको छ । मंगलबार एसपी उमा चतुर्वेदीको नेतृत्वमा एक इन्सपेक्टर र एक जुनियर प्रहरी अधिकृतको टोली पाँचथर प्रस्थान गरेको हो । प्रहरी प्रवक्ता डिआइजी विश्वराज पोखरेलका अनुसार संघीय इकाइ प्रहरी कार्यालय कोसीका एसएसपी शरद खत्रीको नेतृत्वमा तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थलतर्फ गइसकेको छ ।
उता प्रदेश १ का डिआइजी केदार रिजाल पनि घटनास्थलतर्फ जाने तयारीमा रहेका छन् । अनुसन्धानमा कुनै कसर बाँकी नराख्न भन्दै सम्पूर्ण नाकाहरु शिल गरेर प्रहरीले अभियुक्तको खोजी सुरु गरिसकेको जनाएको छ।
गतराति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो। धनराजको परिवारका ५ जनाको हत्यापछि शव घरभित्रै रहेको तथा बमबहादुरको परिवारका ४ जनाको शव घरभित्र तथा बाहिर विभत्स अवस्थामा भेटिएको छ ।
३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम प्राप्त नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स तरिकाले हत्या भएको हो।