मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दाइजोमा मोटरसाइकल नल्याएको निहुँमा श्रीमतीको हत्या



महोत्तरी जेठ, १७–
मोटरसाइकल दाइजो नल्याएको निहुँमा श्रीमती हत्या गरेको आरोपमा पिपरा गाउँपालिका–१ का २५ वर्षीय बलेश्वर यादवलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । २० वर्षीया विमलादेवी यादवको हत्यामा माइती पक्षले किटानी जाहेरी दिएपछि बलेश्वर र उनका बुबा ५५ वर्षीय शंकर यादव पक्राउ परेका हुन् । हत्यामा संलग्न रहेको आरोप लागेका बलेश्वरका दिदीबहिनी र आमा भने फरार रहेको प्रहरीले जनाएको छ । कुटपिट गरी १४ जेठमा विमलादेवीको हत्या भएको नयाँ पत्रिका दैनिकमा खबर छ ।

विमलाका बुबा कमलेशले विवाहमा ज्वाइँ पक्षले मागेअनुसार नगद, सुनचाँदी र अन्य सरसामान दिए पनि मोटरसाइकल दिन नसक्दा छोरीको हत्या गरेको आरोप लगाएका छन् । ‘केटा पक्षको मागअनुसार नै पाँच लाख नगद, दुई भरी सुन, पचास भरी चाँदी, कपडा र सरसामान दिइएको हो । त्यतिवेलै मोटरसाइकल पनि मागेका थिए, तर दिन सकिएन । जेठी छोरीकै विवाहमा लिएको ऋणले थिचेको अवस्था थियो,’ कमलेशले भने, ‘मोटरसाइकल नपाएकै निहुँमा बिहेपछि छोरीलाई यातना दिन थाले । अहिले जीवन नै सिध्याइदिए ।’ बलेश्वर र विमलाको तीन वर्षअघि विवाह भएको थियो । प्रहरीले हत्या घटनाको अनुसन्धान भइरहेको जनाएको छ । ‘घटना शंकास्पद छ, अनुसन्धान पूरा भएपछि मात्रै वास्तविकता खुल्छ,’ जिल्ला प्रहरी कार्यालय महोत्तरीका इन्स्पेक्टर विज्ञान बस्नेतले भने ।

पोस्टमार्टममा ढिलाइ
१४ जेठमा हत्या गरिएकी विमलाको शव सोही दिन जलेश्वर अस्पताल ल्याइएको थियो । तर, बिहीबार दिउँसो मात्रै पोस्टमार्टम भएको छ । पोस्टमार्टममा भएको ढिलाइप्रति पीडित पक्षले अस्पताल र प्रहरीमाथि आक्रोश पोखेको थियो । तर, प्रहरीले भने आवश्यक कागजात तयार गर्दा ढिला भएको जनाएको छ । पोस्टमार्टम रिपोर्ट भने आइसकेको छैन ।

मृतक विमलाका पिता कमलेश भन्छन् ‘मोटरसाइकल दिन सकिनँ, छोरीको जीवन नै सिध्याइदिए’
केटा पक्षको मागअनुसार नै पाँच लाख नगद, मेरो क्षमताले भ्याउनेजति सुन, चाँदी, कपडा र सरसामान दिएकै हुँ । त्यतिवेलै मोटरसाइकल पनि मागेका थिए, तर दिन सकिएन । जेठी छोरीकै विवाहमा लिएको ऋणले थिचेको अवस्था थियो । मोटरसाइकल नपाएकै निहुँमा बिहेपछि छोरीलाई यातना दिन थाले । अहिले जीवन नै सिध्याइदिए । छोरीको विमलाको तीन वर्षअघि विवाह गरिदिएको हुँ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७६, शुक्रबार  १ : २५ बजे