वन्यजन्तुको मासुसहित पक्राउ परेका प्रहरी जवानविरुद्ध मुद्दा दायर



दार्चुला जेठ, १७–
प्रहरी जवानमाथि नै वन्यजन्तु चोरी शिकारी सम्बन्धी मुद्दा दायर भएको छ । दार्चुलाको व्याँस गाउँपालिका–२ का सिकेन्द्रसिंह धामीविरुद्ध वन्यजन्तु चोरी शिकारी गरेको अभियोगमा जिल्ला अदालत दार्चुलामा मुद्धा दायर भएको हो ।

सुदूरपश्चिम प्रहरी गण नम्बर ३ गुल्म, धनगढी दरबन्दी भइ कारागार सुरक्षा गार्डका रुपमा कार्यरत धामीलाई गत वैशाख ८ गते पुलघाँटमा जिल्ला प्रहरी कार्यालय दार्चुलाको प्रहरी टोलीले २ किलो ६५० ग्राम सुकुटी मासुसहित पक्राउ गरेको थियो ।

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, खुमलटार ललितपुरले उक्त सुकुटी मासु झारलको भएको पुष्टि गरेपछि धामीमाथि डिभिजन वन कार्यालय दार्चुलाले जिल्ला अदालतमा मुद्धा दायर गरेको सूचना अधिकारी रणेन्द्र सिंहले बताए ।

डिभिजन वन कार्यालय दार्चुलाले राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण ऐन २०२९ को फदा २६(६) बमोजिम मुद्दा दायर गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : जेष्ठ १७, २०७६ शुक्रबार  ६ : ३८ बजे